सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ

२०८१ फाल्गुन १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१७ फागुन । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्ने बताउनु भएको छ ।

स्याङ्जाको गल्याङ ५ मा भएको दोस्रो हात्तीस्थान तामेकोट समिटको सनिवार समापन गर्दै पुर्वमन्त्री गुरुङले भन्नुभयो, ”सबै दल मिलेर संविधान बनाएको हो,अब संशोधन पनि सबै दल मिलेर संशोधन गर्नुपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले देश निर्माणमा राजनीति दलहरु बीच विभाजित हुन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ”फरक झण्डा बोक्दैमा,फरक बिचार राख्दैमा हाम्रो शत्रु हुँदैन । हाम्रो शत्रु भोक हो गरिबी हो,अशिक्षा हो । ” उहाँले देश निर्माणमा सबैलाई हातेमालो गर्न तामेकोटबाट आह्वान समेत गर्नुभयो ।

तामेकोट समिटको समापनमा बोल्दै उहाँले पर्यटकीय क्षेत्रको ठुलो संभावना बोकेको यस क्षेत्रको सबै मिलेर विकास गर्नुपर्ने धारणा राख्नुभयो । ”गाउँ गाउँ पुगेका मोटरले शहरको खाद्यान्न गाउँ गाउँमा लैजाने मात्रै होइन । गाउँका उत्पादन पनि शहर लैजाने वातावरण सिर्जना गर्नुपर्छ” उहाँको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई,गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई,वडा नम्बर ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई,गरिमा विकास बैंकका निवर्तमान अध्यक्ष श्याम प्रसाद बस्यालले लगायतले पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना बोकेको तामेकोटको सबै मिलेर विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय