काठमाडौँ ,१ चैत। समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा जनसभाको आयोजना गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत्र १५ गते बृहत जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
देशको परिस्थिति जटिल बनाउने प्रयास भइराखेकाले गणतन्त्र पक्षमा मोर्चाले प्रदर्शन गर्न लागेको उहाले जानकारी दिनुभयो । त्यसअघि बुद्धिजीवी र नागरिक समाजसँग चैत्र २ गते शनिबार बिहान ११ बजे अन्तक्र्रिया गर्ने र छलफल सकिए लगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिने तय भएको उहाले बताउनुभयो ।
बैठकले संसदवादी दलहरु र बाहिर रहेका राजनीतिक दल र नेताहरुसँग छलफल गर्ने, राष्ट्रियताको स्वाधिनता र गणतन्त्र रक्षाका साथै समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल अघि बढाइने निर्णय भएको विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकले राजावादीहरुको सक्रियता मुलुकलाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भएको ठहर गरेको छ ।