क्रान्ति अर्याल
स्याङ्जा, ३ चैत । गल्याङ नगरपालिकाको आयोजनामा तथा अन्तर(पुस्ता महिलावादी मञ्च (IGFF) को सहजीकरणमा ‘देशव्यापी महिलावादी अनुपम अभियान’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । महिलाहरूको आत्मसम्मान, स्वाभिमान तथा समतामूलक समाज निर्माणका लागि सशक्त आवाज उठाउने उद्देश्यले यो अभियान नगरसभाहलमा सम्पन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गुरु प्रसाद भट्टराईले महिलाको सशक्तिकरण र समानता समाजको समग्र विकासका लागि अपरिहार्य रहेको बताउनुभयो । उहाँले महिलालाई समान अवसर नदिएसम्म समृद्धि सम्भव नरहेको बताउनुभयो । त्यस्तै महिलाको भूमिका, योगदान र अधिकारलाई सम्मान गर्ने संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै उपप्रमुख हेमा न्यौपानेले महिलाको समानता र सशक्तिकरण कुनै एकल प्रयासले सम्भव नहुने बताउनुभयो । उहाँले जोड दिँदै भन्नुभयो, “महिला सशक्तिकरण भनेको केवल अवसर सिर्जना गर्नु मात्र होइन, उनीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक वातावरण तयार पार्नु पनि हो । यस अभियानले गल्याङ नगरपालिकाका महिला दिदीबहिनीहरूलाई जागरूक बनाउनेछ।”
कार्यक्रममा प्रशिक्षक हरि देवकोटा र हिमाल महतले महिलाहरूलाई सशक्तिकरणका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा व्यक्तिगत तथा सामूहिक विकासका उपायहरूमा केन्द्रित रही समाजमा समानता र स्वाभिमानको महत्त्वबारे विस्तृत छलफल भएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा आयोन नेपालकी अध्यक्ष सुजता बराल र सदस्य संगिता रिमालले कविता वाचन गर्दै महिलाको अधिकार र समानताका पक्षमा महत्वपूर्ण सन्देश प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसैगरी डोलमाया बस्याल, सावित्रा कडेल, इन्दिरा लुइँटेल, संगीता पाठक, सीता देवी डुम्रे, प्रभा सापकोटा लगायतले महिलाको सशक्तिकरण सम्बन्धी आफ्ना विचार तथा अनुभवहरू राख्नुभएकाे थियाे ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत बिष्णु बस्यालले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडाका सयौं विशिष्ट महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस अभियानले समाजमा महिलाको भूमिका र अधिकारलाई सम्मान गर्ने मार्ग प्रशस्त गर्दै सशक्तिकरणको दिशामा नयाँ ऊर्जा थपेको छ ।