पूर्वविशिष्टलाई सुविधा थप्ने तयारीमा सांसदहरूको चर्को विरोध

२०८१ चैत्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ चैत। सांसदहरुले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन खोजिएको भन्दै विरोध जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने कुरा मुलुकको हितमा नरहेको भन्दै यसको विरोध जनाएका हुन् । बैठकमा काङ्ग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताउनुभयो ।

उहाले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेको अवस्थामा पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन नहुने जिकिर गर्नुभयो । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रिय सभाका अध्यक्षलगाएतलाई आजीवन सुविधा दिने कानून बनाउन नहुने उहाले बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन लागिएको भन्दै आपत्ति जनाउनुभयो । महँगी नियन्त्रण र गरिबलाई राहतमा दिनुपर्नेमा जनताप्रतिको उत्तरदायित्व भुलेर सरकार विशिष्ट व्यक्तिलाई सेवा सुविधाको निर्णय उचित नभएको उहाले बताउनुभयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको बताउनुभयो । पूर्वविशिष्टहरुलाई अहिले दिइदै आएको सुविधा समेत कटौती गर्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै उहाले सरकारले जनताप्रति उत्तरदायि भएर काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । सरकारकै कारण अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र आर्थिक अवस्था जर्जर रहेको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय