भिरकोटमा सकारात्मक सोच सहितको नेतृत्व विकास कार्यक्रम

२०८१ चैत्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 

स्याङ्जा, १० चैत । सकारात्मक सोचले व्यक्तिको आत्मविश्वास, उत्साह र नेतृत्व क्षमतामा वृद्धि गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र भिरकोट नगरपालिकाको समन्वयमा सकारात्मक सोच सहितको नेतृत्व विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । भिरकोट नगरपालिका–५ वयरघारी स्थित सिटीहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सरस्वती तिवारी अर्यालले महिलाहरूले बहुआयामिक क्षमताको विकास गर्दै समाजको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले परिवारमा सुख, शान्ति कायम राख्दै समस्या समाधानका लागि अभिभावक तथा अग्रजसँग परामर्श गर्नुपर्ने समेत सुझाव दिनुभयो ।

भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्मचार्यले जीवनमा आउने उतारचढावलाई सहज रूपमा स्वीकार्दै सफलता हासिल गर्न नेतृत्व विकास आवश्यक रहेको बताउनुभयो । भिरकोट उपप्रमुख भगवती रेग्मी अर्यालले सकारात्मक सोचले कठिन परिस्थितिमा पनि सहजता ल्याउने भन्दै महिलाहरूको नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवेश तिवारीले २०८१ सालको श्रावणदेखि फाल्गुन महिनासम्म स्याङ्जामा १४ महिला र २४ पुरुषले आत्महत्या गरेको तथ्यांक बताउदै उहाँले आत्महत्या न्यूनीकरणका लागि परिवार, समुदाय तथा सरकारी–गैरसरकारी निकायको निरन्तर भूमिका आवश्यक रहेको बताउनुभयो । त्यस्तै मनोपरामर्शदाता विजय राईले सकारात्मक सोचसहित जीवनलाई सरल, सहज र दीर्घकालीन बनाउन मनोपरामर्श प्रभावकारी हुने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्ने कला र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण भवानी अधिकारीले र सकारात्मक सोचका विषयमा मधु अधिकारीले प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा करिब १२० जना स्वास्थ्य स्वयंसेविकाका साथै जनप्रतिनिधि, कर्मचारीहरूको उल्लेख उपस्थिति रहेको थियो ।

त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले यस कार्यक्रमले मानसिक स्वास्थ्य, आत्महत्या न्यूनीकरण, नेतृत्व विकास र सकारात्मक सोचको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बालबालिका सहजकर्ता विष्णुमाया काफ्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय