काठमाडौँ, ११ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। आइतबार राति करिब १ बजेदेखि सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिए । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भएको लम्सालले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि दाङको घोराही, तुलसीपुर, गढवाका दमकलका साथै बाहिरी जिल्ला रुपन्देही,कपिलबस्तु,बाँके र बर्दियाबाट दमकल झिकाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए।
आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ,कच्चा पदार्थ,प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएका छन् ।