अर्थमन्त्री पौडेल भोली कालीगण्डकी गाउँपालिकामा आउँदै

२०८१ चैत्र २९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा २९ चैत  । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री  विष्णु प्रसाद पौडेल शनिबार कालीगण्डकी गाउँपालिकाको वैघा, स्याङ्जा आउने हुनुभएकाे छ । कालीगण्डकी गाउँपालिकाको आयोजनामा हुन लागेको विशेष उद्घाटन समारोहमा मन्त्री पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको हाे ।

कालीगण्डकी गाउँपालिका वडा नं. ३ मा निर्माण सम्पन्न वडा कार्यालय भवन, सोही वडामा अवस्थित आधारभूत स्वास्थ्य चौकी भवन तथा वैघा–रिडी सडकको समुद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार उद्घाटन कार्यक्रम विहान ७; ३० बजे कालीगण्डकी गाउँपालिका–३ वैघामा हुनेछ । कार्यक्रमलाई भव्यता दिन गाउँपालिकाले आवश्यक तयारीहरू तीव्र रूपमा अघि बढाएको छ ।

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री जस्तो विशिष्ट व्यक्तित्वको आगमनलाई गाउँपालिकाले गौरवको रूपमा लिएको छ । अध्यक्ष थापाले आम समुदायलाई कार्यक्रम स्थलमा उपस्थित भई स्वागत गर्न आग्रह गर्नुका साथै स्याङ्जा जिल्लाभरका सम्पूर्ण पत्रकारहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध समेत गर्नुभएको छ ।

स्थानीय पूर्वाधारको विकासमा महत्वपूर्ण मानिएको वडा कार्यालय भवन, स्वास्थ्य चौकी र सडक उद्घाटनसँगै कालीगण्डकी गाउँपालिकामा सेवा प्रवाह र आवागमनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय