महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक

२०८२ बैशाख ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ वैशाख । वैशाखको अन्तिम साता तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न बिहीबार केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा बिहीबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन् ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेन्डा  चारवटा रहेको सो पार्टीले जनाएको छ । जसअनुसार अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा  केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने पहिलो एजेन्डा रहेको छ । दोस्रो एजेण्डामा महाधिवेशन कार्य विवरणका सम्बन्धमा रहेको छ ।

रास्वपाले यसअघि वैशाख २५ देखि २७ सम्म पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । तर सभापति रवि लामिछाने सहकारी मुद्दामा थुनामा पुगेपछि महाधिवेशन तोकिएको मितिमा नहुने निश्चितजस्तै भैसकेको छ । यसअघि बसेको सचिवालय बैठकमा समेत वैशाखको महाधिवेशन सार्ने कि हाललाई स्थगन मात्र गर्ने भन्नेबारेमा छलफल भएको थियो । उक्त छलफलमा औपचारिक निर्णय केन्द्रीय कमिटीबाटै गर्न उपयुक्त हुने भनेर केन्द्रीय समिति बैठक आह्नवान गरिएको थियो ।

महाधिवेशनबाहेक केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विविध विषयमा छलफल हुने नेता झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय