काठमाडौ,६ बैशाख । देशभरका ६ महिना देखि ५ वर्ष मुनिका २२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र १९ लाख बालबालिकालाई जुकाको औषधी शनिबार र आइतबार खुवाइँदै छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।
बालबालिकामा स्वास्थ्य समस्या नहोस भनेर सावधानी स्वरुप भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान चलाएको छ। बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक र सामाजिक विकासमा पनि यसले प्रभाव पार्ने हुँदा बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले बच्चाहरूको स्वास्थ्यको ख्याल राख्दै साबधान रहन अभियान सञ्चालन गर्दै आएको छ। भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।यसबाट सुरक्षित र स्वस्थ रहन अभियान लाइ सरकारले प्राथमिकता मा राखेको छ। सरकारले २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुईपटक बालबालिकालाई खुवाउने अभियानले निरन्तरता पाइरहेको छ।
पाँच वर्षमुनिका बालबालिकालाई वर्षको दुई पटक वैशाख र कात्तिकमा जुकाको औषधि र भिटामिन ए खुवाउने गरिएको छ । भिटामिन ए र जुकाको औषधि खुवाए सँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण गरिन्छ । स्वास्थ्य सेवा विभागका अनुसार यस पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पायक पर्ने स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी स्थानीय तहले गरेका छन ।