इन्जिनियर शाहद्वारा खानेपानी मन्त्रीलाई गम्भीर आरोप सहित निलम्बनको उजुरी

२०८२ बैशाख ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ,११ बैशाख । जुन कार्यालयमा पुग्यो त्यहीँ कार्यालयमा बेथिति विरुद्ध सशक्त ढंगले भण्डाफोर चलाउने इन्जिनियर दिपेन्द्र कुमार साहले आफै मन्त्रीलाई निलम्बन गरि छानबिन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उजुरी दिनु भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका तत्कालिन कार्यवाहक आयोजना प्रमुख दीपेन्द्र कुमार साहले खानेपानी मन्त्री प्रदीप यादवमाथि व्यक्तिगत स्वार्थका लागि आयोजना अवरुद्ध गरेको गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उजुरी दिनुभएकाे हाे । साहले मन्त्री यादवलाई निलम्बन गरी उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न, आफूलाई तत्काल पुनर्बहाली गर्न, मन्त्रीको कथित अनियमितता छानबिन गर्न र खानेपानी क्षेत्रमा व्यक्तिगत स्वार्थको हस्तक्षेप रोक्न चार बुँदे माग राख्नुभएकाे छ ।

साहले पत्रमा उल्लेख गरेअनुसार, २०८१/११/१८ देखि जनकपुर आयोजनामा इन्जिनियर र २०८१/११/२२ देखि आर्थिक तथा प्रशासनिक अधिकारसहित कार्यवाहक आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे । सो अवधिमा मिथिला, सिरहा, राजविराज र गौशालाका चार महत्त्वपूर्ण ठेक्का अनुमोदन भई लामो समयदेखि रोकिएका योजनाहरू अघि बढेका थिए । यसले आयोजनालाई चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्न सकारात्मक ऊर्जा प्रदान गरेको थियो । तर, मन्त्री यादवको एकपक्षीय निर्णयले उहाँको सरुवा र अधिकार खोसिएपछि आयोजनाको प्रगति ठप्प भएको र लाखौँ जनताको स्वच्छ खानेपानीको अधिकार हनन भएको उहाँको दाबी छ । पहिलो मागमा साहले मन्त्री यादवले आफ्ना निकट व्यक्ति एजाज बाबु राँकीमार्फत ७ करोडको डिप बोरिङलगायतका कार्यमा व्यक्तिगत लाभ लिएको आरोप लगाउनुभएकाे छ । उहाँले यो विषयमा सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न अनुरोध गर्नुभएकाे छ ।

दोस्रो, जनकपुर आयोजनाको उपलब्धि र आगामी बजेटको लक्ष्य सुनिश्चित गर्न आफूलाई इन्जिनियरको हैसियतमा तत्काल पुनर्बहाली गर्न माग गर्नुभएकाे छ । तेस्रो, खानेपानी क्षेत्रमा व्यक्तिगत स्वार्थको हस्तक्षेप रोक्न मन्त्री यादवलाई निलम्बन गरी उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न र दोषी ठहरिएकालाई कानुनअनुसार कारबाही गर्न जोड दिनुभएकाे छ । उहाँले मन्त्रीले आफूविरुद्ध नक्कली प्रमाण बनाउन वा प्रमाण नष्ट गर्न सक्ने सम्भावना रहेको भन्दै तत्काल निलम्बनको आवश्यकता औँल्याउनुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय