क्रान्ति अर्याल
स्याङ्जा,२६ वैशाख । चापाकोट नगरपालिका अब पूर्ण खोप सुनिश्चित नगरको रूपमा स्थापित भएको छ । बालबालिकाको स्वास्थ्य सुरक्षामा नयाँ मापदण्ड तय गर्दै चापाकोटले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १५ महिनासम्मका सबै बालबालिकालाई खोप उपलब्ध गराएको छ ।
नगरपालिका भित्रका ३१९ बालबालिकालाई आवश्यक सबै खोप लगाएर नगरलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको हो । यो अभियान वडा नम्बर १ देखि १० सम्मका वडामा गरिएको तथ्यांक संकलन, अभिभावकहरूलाई लक्षित सचेतना कार्यक्रम, स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय सहभागिताले सम्भव भएको थियो ।
सम्पूर्ण नगरवासी, स्वास्थ्य कार्यालय, वडा तह र महिला स्वयंसेविकाहरूको योगदानले यो उपलब्धि सम्भव भएको नगर उपप्रमुख इशा रानाले बताउनुभयो ।
त्यस्तै उहाँले सरोकारवालाहरूले बालबालिकाको खोप सुनिश्चितता प्रति निरन्तर चासो राख्नुपर्ने र यस्ता अभियानलाई हरेक वर्ष निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । चापाकोटको यो कदम स्थानीय तहबाट हुने स्वास्थ्य सुधार अभियानको उत्कृष्ट उदाहरण बनेको छ । जसले अरू पालिकालाई पनि यस्तै कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिनेछ ।