काठमाडौँ ,७ जेठ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने उद्देश्यका साथ पर्यटन विधेयक २०८१ ल्याइएको बताउनुभएको छ ।
बुधबार राष्ट्रियसभा बैठकमा पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताउनुभएको हो ।
पर्यटकीय क्षेत्रको प्रबद्र्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउन विधेयक ल्याइएको उहाले बताउनुभयो । उहाले पर्यटनमा निजी क्षेत्रलाई समेट्नका लागि निजी क्षेत्रमैत्री व्यवस्था गरिने धारणा राख्नुभयो । मन्त्री पाण्डेले पर्यटकीय र सांस्कृतिक रुपमा सम्पन्न नेपाल दुनियाँभरको आस्थाको केन्द्रको रुपमा रहेको भन्दै पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्ने उल्लेख गर्नुभयो । नेपाल पर्वातारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्न आफू खुला रहेको उहाले बताउनुभयो । उहाले क्यासिनोलाई धेरै विवादित बनाउन नहुने उल्लेख गर्दै यसको नियमनमा ध्यान दिने बताउनुभयो ।
बैठकले पर्यटन विधेयक २०८१ माथि बिचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यस्तै बैठकमा
‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ ।