निशा भट्टराई
स्याङ्जा,१२ जेठ । वालिङ र गल्याङ नगरपालिकाको सहकार्यमा, आपसी सहयोग केन्द्र स्याङ्जाको साझेदारी र द एशिया फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत तीन दिने वन डडेलो, विपद् तथा पानी व्यवस्थापनसम्बन्धी विषयगत प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।
तालिममा गल्याङ र वालिङ नगरपालिकाबाट चयन गरिएका २५ जना स्थानीय सहजकर्ताहरूको क्षमता अभिवृद्धि गरिएको थियो। सहभागीहरूलाई विपद् पूर्वतयारी, न्यूनीकरण, व्यवस्थापन र दीगो समाधानका उपायहरूमा व्यवहारिक ज्ञान प्रदान गरिनुका साथै उनीहरूलाई आफ्ना समुदायमा गई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने गरी प्रशिक्षित गरिएको आयोजकले जनाएको छ।
तालिममा आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा, टिम लिडर हरिप्रसाद ढकाल, प्रमुख प्रशिक्षक श्रीकृष्ण चौधरी, सशस्त्र प्रहरी बलका डिएसपी लिलाबहादुर भुजेल तथा द एशिया फाउन्डेसनका प्रदेश संयोजक पूर्ण परियारको विशेष उपस्थिती रहेको थियो। त्यस्तै, आपसी सहयोग केन्द्रका अन्य कर्मचारीहरूको समेत सक्रिय सहकार्य रहेको थियो।
कार्यक्रमको उद्देश्य स्थानीय सरकार तथा समुदायस्तरमा विपद् प्रतिकार्य क्षमतामा अभिवृद्धि गर्दै दीगो विकासमा टेवा पुर्याउनु रहेको आयोजक संस्थाहरूले बताएका छन्।
तालिममा वन डडेलो, विपद् व्यवस्थापन र पानीसम्बन्धी जोखिम न्यूनीकरण लगायतका विषयहरू समेटिएका थिए। पानी व्यवस्थापनसम्बन्धी प्रशिक्षण अन्तर्गत सहभागीहरूलाई पानी स्रोतको संरक्षण, दिगो उपयोग, जल संकट न्यूनीकरण तथा पानीजन्य जोखिम न्यूनीकरणका उपायहरूमा आवश्यक ज्ञान र सीप प्रदान गरिएको थियो।
सञ्चालन गरिएको यो तालिमले सहभागीहरूलाई विपद् तथा जल स्रोत व्यवस्थापनका क्षेत्रमा प्रशिक्षकका रूपमा स्थापित गर्न र समुदायस्तरमै दीगो तथा व्यवहारिक समाधानमार्फत सुरक्षित भविष्य निर्माण गर्न सशक्त बनाएको आयोजकहरूको विश्वास छ।