काठमाडौँ, १३ जेठ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासंग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताउनुभएको छ ।
संसद बैठक स्थगित भएपछि मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारवाही समेत भएको अवस्थामा कर्मचारीसंग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताउनुभयो ।
राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरि बिपक्षी दलका केहि सांसदहरुले अभिव्यक्ति दिएको उहाँले बताउनुभयो । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनेको भन्दै बिभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानविन गर्ने गरि प्रक्रिया अघि बढाएको धारणा राख्नुभयो । उहाँले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरुलाई कारवाही गर्नुपर्नेमा एमाले दृढ रहेपनि अहिले नै हतारमा कसैलाई दोषि देखाउने काम उचित नभएको बताउनुभयो ।
बर्तौलाले वर्तमान सरकार गठन भएपनि कानूनले काम गरेको र सुशासन प्रवद्र्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषि देखिए उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो ।