गल्याङ नगरपालिका राष्ट्रपति रनिङ शिल्ड २०८२ को विजेता, खेलाडीहरूलाई एक लाख नगद सहित सम्मान

२०८२ जेष्ठ २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा ,२२ जेठ । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा सम्पन्न १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा गल्याङ नगरपालिकाले ऐतिहासिक सफलता हासिल गर्दै उपाधि उचाल्न सफल भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्ला भरिका विभिन्न पालिकाबाट सहभागी विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा गल्याङ नगरपालिकाले १५ स्वर्ण, ६ रजत र ७ काश्य पदक सहित कुल २८ पदक जित्दै समग्र विजेता बन्न सफल भएको हो ।

विशेषगरी कराते तर्फका १२ विधामा गल्याङका खेलाडीहरूले सबैमा स्वर्ण पदक जित्दै आफ्नो प्रभुत्व देखाएका थिए । त्यसैगरी छात्र ८०० मिटर दौड, छात्रा १०० मिटर दौड र छात्रा हाईजम्प तर्फ पनि गल्याङका खेलाडीहरूले स्वर्ण जितेका थिए ।

उक्त प्रतियोगितामा आयोजक चापाकोट नगरपालिका १२ स्वर्ण, १८ रजत र ११ काश्य पदक सहित उपविजेता बनेको थियो । प्रतियोगिता अन्तर्गत तीन हजार मिटर, पन्ध्र सय, आठ सय, चार सय, दुई सय मिटर दौड, छात्रछात्रा भलिबल, हाईजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिन थ्रो, सटपुट, कबड्डी लगायतका खेल समावेश रहेका थिए ।

यो सफलता पछि गल्याङ नगरपालिकाले आफ्नो टिममा सहभागिता जनाउने खेलाडीहरू र प्रशिक्षकहरूलाई बिहिवार एक विशेष कार्यक्रमबीच सम्मान गरेको छ । खेल क्षेत्रमा उल्लेखनीय सफलता ल्याउने खेलाडीहरूलाई रु। १ लाख नगद पुरस्कार सहित नगरपालिकाले सम्मान प्रकट गरेको हो ।

उक्त सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख गुरु प्रसाद भट्टराईले खेलकुदले युवा पुस्तामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने बताउनुभयो । त्यसैगरी उहाँले खेलाडीहरूले जुन समर्पण देखाएर गल्याङको नाम उच्च बनाए त्यो गौरवको कुरा रहेको बताउदै नगरपालिकाले आगामी दिनमा खेलकुद पूर्वाधार विकास र खेलाडीहरूको समुचित व्यवस्थापनमा थप लगानी गर्दै जाने बताउनुभयो ।

उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू अब गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिधै सहभागी हुनेछन् । गल्याङ नगरपालिकाको यो सफलता स्थानीय तहमा खेलकुद प्रतिको लगाव र युवा प्रतिभा पहिचान गर्नेसम्बन्धी प्रयासको उदाहरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय