काठमाडौं ,४ असार । सरकारले असार १६ गतेदेखि हुने प्रधानमन्त्रीको स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्रीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणका सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्य प्रतिनिधिमण्डल स्पेन जाने उहाले बताउनुभयो ।


मन्त्रिपरिषद्ले पुल सुधार तथा मर्मत कार्यक्रम तेश्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्व ७९ करोड नेपाली रुपैया बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिव १ अर्व ८ करोड ८० लाख नेपाली रुपैया अनुदान सहायता स्वीकार गर्ने र विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थासंग रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिव २९ अर्ब ७२ करोड नेपाली रुपैया बरावरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्त गुरुङले बताउनुभयो । बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानून मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो ।
प्रवक्ता गुरुङले निजामति विधेयकलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै प्रतिनिधिसभामा पेश भएर छलफल भएपछि पारित हुने बताउनुभयो । विधेयक रोक्न सरकारलाई कर्मचारीले दवाव दिएको भन्ने हल्लामा सत्यता नरहेको उहाले उल्लेख गर्नुभयो ।
प्रवक्ता गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउदै लैजाने सरकारको नीति रहेको बताउनुभयो ।