काठमाडौं , १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री पाण्डेले सम्पूर्ण मातृभाषाहरू राष्ट्रभाषा भएकाले बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
भाषा आयोगले भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको उहाले जानकारी दिनुभयो । हालसम्म १२४ वटा भाषा पहिचान भइसकेको भन्दै उहाले ९३ वटा भाषा आदिवासी समुदायसँग सम्बन्धित रहेको बताउनुभयो । ती भाषाहरूको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवद्र्धनमा सरकार निरन्तर लागि परेको मन्त्री पाण्डले बताउनुभयो ।
मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट पार्नुभयो ।
त्यस्तै उहाले कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवद्र्धनप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।