काठमाडौँ ,२४ असार। सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सभामुखको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।


समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य छन् ।