वर्तमान सरकारले दमनकारी शैलीमा सरकार चलाउन खाेज्याे : सांसद कार्कि

२०८२ श्रावण ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,८ साउन । भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा तोसिमा कार्कीलाई बोल्न समय दिनुभएको थियो । सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाउनुभयो ।

सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरुलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासी दिने काम गरेको उहाले बताउनुभयो । उहाले भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने व्यक्ति कै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको धारणा राख्नुभयो । सांसद कार्कीले आफुहरुले निरन्तर विरोध गर्दा पनि संसद चलाइएकोप्रति आपत्ति जनाउनुभयो ।

त्यस्तै राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमामा संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाको आन्दोलन जारी रहने बताउनुभयो । उहाले गंगालाल अस्पतालमा १५ बर्षमूनीका बालबालिकालाई निशुल्क उपचार गर्ने व्यवस्थाबापत सरकारले दिनुपर्ने रकम नदिएकाले सेवा सञ्चालनमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

विरोधकाबीच सभामुख घिमिरेले सदनको कारवाही बढाएपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय