भेटेरिनरी अस्पतालद्धारा ७८ लाख अनुदान

२०८२ श्रावण ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा,८ साउन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा पशुपालक कृषकलाई झण्डै ७८ लाख रुपैयाँ अनुदान दिएको छ । केन्द्रले नश्ल सुधार, उत्पादन बृद्धि, क्षेत्र विस्तार र प्रविधि हस्तान्तरण कार्यक्रममा ७७ लाख ५९ हजार ९ सय १४ रुपैयाँ अनुदान दिएको हो ।

विज्ञ केन्द्रले बृहत्तर पशु विकास तर्फ ३० लाख २५ हजार ४ सय ९६ रुपैयाँ अनुदान दिएको छ । चापाकोट नगरपालिकाको केलादी दुग्ध उत्पादक समूहलाई १६ लाख ९ हजार ३ सय ९४ र कालिगण्डकी गाउँपालिकाको लसर्घा नमुना बहुउद्देश्यीय कृषक समूहलाई १४ लाख १६ हजार १ सय २ रुपैयाँ गरी ३० लाख भन्दा बढि अनुदान दिएको हो ।

उत्पादनमा आधारित प्रोत्सहान सहयोग अन्र्तगत केन्द्रले दुग्ध उत्पादक कृषकलाई ९ लाख ९९ हजार २ सय ४९ रुपैयाँ अनुदान दिएको छ । समूह तथा सहकारी मार्फत दुध उत्पादन गर्दै आएका कृषकलाई प्रतिलिटर ५ रुपैयाँका दरमा उक्त रकम अनुदान दिएको केन्द्रले जनाएको छ ।

यान्त्रिकरण सहयोग कार्यक्रममा १६ कृषकलाई कम्बाइन मिल, ३ जनालाई प्लेटदाना, १३ कृषकलाई च्याफकटर र १ जना कृषकलाई ग्रासकटर गरी ९ लाख ४८ हजार बराबरको प्रविधि हस्तान्तरण गरेको छ । प्रविधिमै ४ दुग्ध उत्पादक सहकारी र १ फर्मलाई मिल्क पास्चराईजेसनमा ४ लाख ३६ हजार २ सय ७५ रुपैयाँ बराबरको समान केन्द्रले कृषकलाई हस्तान्तरण गरेको छ ।

जिल्लाभरका डेरी, पासु पसललाई छनोटका आधारमा ७ वटा पोल्ट्री तथा फ्रेस हाउसलाई ५ लाख ९७ हजार ५५ रुपैयाँ अनुदान दिएको केन्द्र प्रमुख डा. रुपेश श्रेष्ठले बताए । स्थानीय पशुपंक्षी संरक्षणमा २ वटा फर्मलाई ५ लाख ५९ हजार १ सय ७८ रुपैयाँ अनुदान दिएको डा. श्रेष्ठले जनाए ।

उन्नत नश्लका पाडी र बाँच्छी हुकाउने प्रोत्साहन तर्फ ३५ कृषकका ३० पाडी र १४ बाँच्छीलाई १० हजारका दरमा ४ लाख ४० हजार अनुदान दिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाँझो जग्गामा घाँस खेती कार्यक्रममा ११ वटा पशुपालन फर्मलाई १ लाख ९३ हजार ४ सय ८५ रुपैयाँ अनुदान दिएको छ ।

उत्पादनमा आधारित प्रोत्साहनमै ६ वटा कृषि उद्यम, सहकारी र पशुपंक्षी र्फमहरुलाई २ लाख २८ हजार ७ सय ४६ रुपैयाँ अनुदान दिएको छ । केन्द्रका सूचना अधिकारी भरत रेग्मीले दिएको जानकारी अनुसार माछा पोखरी विस्तारमा ३ वटा फर्मलाई १ लाख ७४ हजार ८ सय ३० रुपैयाँ दिइएको छ । उता माछा पोखरी ममर्तमा ३ वटा फर्मलाई ५७ हजार ६ सय रुपैयाँ अनुदान दिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय