एक वर्षमा तीन हजार धारा जडान

२०८२ श्रावण २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २२ साउन । आर्थिक वर्ष २०८१/०८२ को एक वर्षको अवधिमा तीन हजार भन्दा बढि पानीको धारा जडान गरिएको छ । खोनपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले एक वर्षको अवधिमा तीन हजार भन्दा बढि पानीको धारा जडान गरेको हो ।

कार्यालयले स्याङ्जामा एक हजार ५८६ र कास्कीमा एक हजार ६७५ गरी तीन हजार २६१ पानीको धारा जडान गरेको जनाएको छ । समूहगत र एकल गरी स्याङ्जा र कास्कीमा संचालित तीन सय ७७ योजना मध्ये गएको वर्ष सम्पन्न ३० योजना अन्र्तगत उक्त धाराहरु जडान गरिएको छ ।

गतवर्ष ४३ करोड ८६ लाख बजेटबाट तीन सय ७७ योजनाहरु निर्माण गरिएको कार्यालय प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताउनुभएकाे छ । ‘तीन सय ७७ मध्ये ३० वटा योजना पूर्ण रुपमा संचालनमा आएका छन् ।’ उहाँले भन्नुभयाे, ‘स्याङ्जाका झण्डै दुई सय र कास्कीका १४५ गरी करिब तीन सय ४७ क्रमागत योजनाहरु आउँदो वर्षहरुमा सम्पन्न हुँदै जान्छन् ।’

यस अवधिमा कार्यालयले स्याङ्जाको ठूलो २६० परिवार लाभान्वित हुने चापाकोट नगरपालिका–८ को छरछरे र कास्की ठूलो ७६६ परिवार लाभान्वित हुने पोखरा महानगरपालिका–२४ को लौरुक खोला फिल्टर ट्यांकी तीन स्टेपको लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ देखि जिल्लामा झण्डै ३२ हजार पानीका धारा जडान गरिएको सरसफाई डिभिजन कार्यालयका सूचना अधिकारी कमल बरालले बताउनुभयाे । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानपछि ६ वर्षको अन्तरालमा ३१ हजार ७ सय ५८ पानीका धारा जडान गर्दा झण्डै १६ हजार घरपरिवार लाभान्वित भएको उहाँले बताउनुभयाे ।

प्रदेश तर्फका बहुवर्षिय योजनाहरु रकम अभाबमा वर्षौदेखि निर्माणाधिन छन् । क्रमागत तर्फका योजनालाई १० लाख र नयाँलाई २० लाख बजेट दिने गरिएको छ । मन्त्रालयले सम्पन्न गराउनुको सट्टा वर्षेनी योजना थप्दा योजना फरफारकमा समस्या भएको कार्यालयले जनाएको छ ।

त्यसैबीच कार्यालयले गएको वर्ष लिफ्टिङ् खानेपानी योजनालाई एक करोड ३३ लाख ६४ हजार ६५६ रुपैयाँ विद्युत महशुल अनुदान दिएको छ । स्याङ्जाका १ सय ३३ योजनालाई ८६ लाख ७८ हजार ८४ र कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार ५७२ रुपैयाँ अनुदान दिएको छ । महशुलमा अनुदान दिने कार्यक्रम अन्र्तगत १६९ योजनाले अनुदान पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय