वीरगन्ज, ७ भदौ । वीरगन्जमा हैजाको संक्रमण महामारीको रूपमा फैलिएको छ। पछिल्लो समय वीरगन्जका विभिन्न अस्पतालमा झाडापखालाको उपचार गराइरहेका बिरामीहरूको परीक्षण गर्दा हालसम्म २८ जनामा हैजाको संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजु साहका अनुसार, नेशनल मेडिकल कलेज, तराई हस्पिटल, वीरगन्ज हेल्थ सेन्टर र अलि अर्थो सेन्टर अस्पतालमा भेटिएका बिरामीमा हैजाको संक्रमण देखिएको हो। हालसम्म वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११, १२ र १३ मा बिरामीहरू फेला परेका छन्।


जनस्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, संक्रमणको सुरुवात शुक्रबार राति वडा नम्बर १२, मुर्लीको नयाँ टोलबाट भएको थियो। सुरुमा सोही टोलका करिब ३० जनामा झाडापखाला देखिएपछि उनीहरू नजिकैको तराई हस्पिटलमा भर्ना भएका थिए। अस्पतालले हैजाको शंका गरेपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा सुरुमा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको थियो।
संक्रमणलाई थप फैलिन नदिन महानगरपालिकाले तत्कालै धेरै कदम चालेको छ। अर्को सूचना जारी नभएसम्मका लागि भाजा, चटपटे र पानीपुरी लगायतका ‘स्ट्रिट फुड’को बिक्रीमा पूर्ण रोक लगाइएको छ। साथै, स्वास्थ्यकर्मीको टोली घर–घरमा पुगेर बिरामीहरूको खोजी र शंकास्पद बिरामीको परीक्षण गराइरहेको छ। उनीहरूले संक्रमणबाट बच्ने उपायबारे जनचेतना पनि फैलाइरहेका छन्।
वीरगन्जमा हैजाको संक्रमण फैलिएको खबरसँगै मधेश प्रदेश सरकार पनि यसको रोकथाममा सक्रिय भएको छ। प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले तत्काल उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका थिए।
सोही निर्देशनअनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मन्त्रालयका महाशाखा प्रमुख डा। विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज खटाएका छन्।
स्वास्थ्य विज्ञहरूले पानी उमालेर मात्र पिउन, सरसफाइमा ध्यान दिन र कुनै पनि लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान सबैलाई आग्रह गरेका छन्।