ट्राफिक प्रहरीले नै चिन्दैनन् “इम्बोस्ड नम्बर प्लेट”

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

केही समयअघि म पब्लिक स्कार्पियो चढेर धनगढी पुगेको थिएँ । गाडीमा नयाँ इम्बोस्ड नम्बर प्लेट जडान गरिएको थियो । नम्बर प्लेट पहेंलो रङमा स्पष्ट देखिन्थ्यो । तर शहर प्रवेश गर्नेबित्तिकै ट्राफिक प्रहरीले गाडी रोक्दै भने भाइ साप, कहाँ जा रहे हो ?

पछि बुझ्दा वास्तविकता अलि गम्भीर रहेछ। प्रहरीलाई नै इम्बोस्ड नम्बर प्लेटबारे प्रष्ट जानकारी थिएन। अझ आश्चर्य त के भने, उनीहरूले नेपाली नम्बर प्लेट र भारतीय नम्बर प्लेट छुट्याउनै सकेनन्। स्थिति यति अलमल भयो कि अन्ततः प्रहरीले हिन्दीमै कुरा गर्दै प्रश्न सोध्न थाले। आफ्नै देशको नम्बर प्लेट नचिनेर सुरक्षा निकायले नागरिकसँग हिन्दीमा कुरा गर्नुपर्ने अवस्था आउनु कस्तो विडम्बना ?

पहिलेका नम्बर प्लेटमा देवनागरीक अंक-अक्षर प्रयोग हुन्थे। जसले गर्दा भारत वा अन्य मुलुकका गाडी सजिलै छुट्याउन सकिन्थ्यो । तर अहिले सबै अंग्रेजी अंक-अक्षरमा आधारित भएपछि विशेषगरी सीमा क्षेत्रमा ठुलो भ्रम सिर्जना भएको छ।

भारतसँग खुला सीमा भएकाले दैनिक हजारौँ गाडी आउजाउ गर्छन्। जब नेपाली नम्बर प्लेट नै भारतीयसँग मिल्न थाल्छ, त्यसबेला सुरक्षा चुनौती बढ्नु स्वाभाविक हो। यसले केवल भाषा र पहिचानको प्रश्न मात्र होइन, राष्ट्रिय सार्वभौमिकता र व्यावहारिकतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ।

नेपालमा पछिल्ला वर्षयता सबैभन्दा बढी विवादमा तानिएको विषयमध्ये इम्बोस्ड नम्बर प्लेट पनि एक हो। सरकारले यसलाई आधुनिकिकरणको कदम भनेर प्रस्तुत गर्दै आएको छ भने सर्वसाधारणले यसलाई भाषा र पहिचानमाथिको प्रहार तथा विदेशीसँगको कमिसन खेल भनेर आलोचना गर्ने गरेका छन्।

जनस्तरमा असन्तोष बढ्नुका केही प्रमुख कारण स्पष्ट छन् 

१. भाषा र संस्कृति : सरकारी कागजपत्र, मुद्रा, छाप सबैमा नेपाली भाषा अनिवार्य हुन्छ। तर नम्बर प्लेटमा देवनागरी हटाएर अंग्रेजी मात्र राखिनु धेरैलाई आत्मसम्मानमाथि चोटझैँ लाग्छ।

२. कमिसन र ठेक्का प्रक्रिया : सम्झौतामा पारदर्शिता नभएको, विदेशीलाई अनावश्यक फाइदा दिने गरी ठेक्का भएको आरोप निरन्तर लाग्दै आएको छ। यसले यो प्रविधि जनताका लागि नभई ठेकेदार र दलालका लागि हो भन्ने भाष्य निर्माण भएको छ।

३. प्रशिक्षण र जनचेतनाको अभाव : प्रविधि ल्याउनु सजिलो भए पनि कार्यान्वयन गर्न प्रहरीलाई प्रशिक्षण र जनतालाई सचेतना आवश्यक थियो। तयारी नगर्दा उल्टै भ्रम फैलियो।

४. सरकारको तर्क : यस प्रणालीले गाडी चोरी नियन्त्रण गर्ने, ट्र्याकिङ सजिलो बनाउने, राजस्व असुली पारदर्शी गर्ने र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने दाबी गरिन्छ।

५.प्रविधि आवश्यक, तर पहिचान अनिवार्य : विश्व तीव्र गतिमा अघि बढिरहेको अवस्थामा नेपालले पनि आधुनिक प्रविधि आत्मसात गर्नैपर्छ। तर आधुनिकताको नाममा आफ्नै भाषा र पहिचानलाई मेटाउनु भने सुधार होइन, आत्मसमर्पण हो।

मलाई अझै पनि धनगढीको त्यो घटना सम्झिँदा लाग्छ, प्रविधि भित्र्याउने हतार भयो, तर तयारी नगरी ल्याइँदा परिणाम उल्टो आयो। प्रहरी स्वयंले भारतीय र नेपाली नम्बर छुट्याउन नसक्ने मात्र होइन, नागरिकसँग हिन्दीमै कुरा गर्ने अवस्था आयो भने, त्यस्तो प्रणालीलाई कसरी स्विकार गर्न सकिन्छ ?

इम्बोस्ड नम्बर प्लेटबारेको बहस केवल प्रविधिको मात्र नभई भाषा, संस्कृति, सार्वभौमिकता र जनविश्वाससँग गाँसिएको छ। आधुनिकता स्विकार त गरौं, तर आफ्नो पहिचान मेटाएर होइन।

खेम गैह्रे
गल्याङ नगरपालिका १ मालुङा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय