भिरकोटमा माटो परीक्षण ल्याब

२०८० बैशाख १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १३ वैशाख । स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

माटोमा हुने तत्वबारे न्यूनतम जानकारी पाउन र माटो परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकामा किसानलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।“अत्याधुनिक उपकरण जडान गरी स्थापना गरिएको प्रयोगशालाबाट माटोको अवस्थाबारे किसानलाई जानकारी दिने गर्छौं” नगरप्रमुख कर्माचार्यले भन्नुभयो, “आफूले बाली लगाएको माटोको अवस्थाबारे किसानले जानकारी पाउने र माटोमा भएका कमी कमजोरीको उपचार गर्न सकिने भएकाले यो प्रयोगशाला निक्कै उपयोगी हुने विश्वास हाम्रो छ ।”

नगरभित्रका नौवटा वडाको तालिका बनाएर प्रयोगशालाबाट माटो परीक्षण गर्ने तयारीमा नगरपालिका छ । डिजिटल माध्यमको अत्याधुनिक उपकरणबाट माटोमा भएको ‘पिएच’को मात्रा तत्कालै र अन्य अन्य तत्वको मात्रा १–२ दिनभित्रै किसानलाई उपलब्ध गराइने कृषि शाखा प्रमुख किसान अर्यालले बताउनुभयो ।

“माटोसम्बन्धी विभिन्न १२ वटा प्यारामिटरको परीक्षण प्रयोगशालामा हुन्छ” उहाँले भन्नुभयो, “माटोमा भएको कमी कमजोरीकाबारेमा जानकारीसहित उपचार विधिबारे पनि सुझाव तथा परामर्श दिने गरिएको छ ।”

भिरकोटमा माटो परीक्षण प्रयोगशाला नहुँदा यहाँका किसानले माटोको नमुना लिएर पोखरा जानुपर्ने बाध्यता थियो । त्यसमा पनि परीक्षण गर्न समय लाग्ने गरेकाले तत्कालै नतिजा नआउने र ढिलो हुँदा किसान बालीनाली लगाउने समय घर्किसक्ने हैरानीमा थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय