पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

२०८० श्रावण २८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पर्वत, २८ साउन । छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा सडक माथिबाट ठूला ढुङ्गा र लेदोसहित खसेको पहिरोले आज दिउँसो ३ बजेदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक खुलाउनका लागि जेसीभी र सुरक्षाकर्मी तयारी अवस्थामै रहे पनि वर्षा नरोकिएको र पहिरो खस्ने क्रम निरन्तर चलिरहेकाले तत्काल खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि खुलाउन पहल गरिने प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङदेखि छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोक र अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन लस्तीबजारमा अलपत्र बनेका छन् । प्रहरीले उक्त बाटो सञ्चालन नहुने बेलासम्म छिमेकी बागलुङ जिल्लातर्फको सडक प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ ।

यसैबीच निरन्तरको वर्षाले सबैभन्दा पहिलो नेपालकै अग्लो र लामो पुल नजिकै भासिएको छ । पर्वतको कुश्मा बजार र कटुवाचौपारी जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुलको कुश्मातर्फको भागमा भासिएको हो । पुलको फाउण्डेसन नजिकै भासिएपछि पुल जोखिममा परेको छ । वर्षा नरोकिएकाले तत्काल उक्त क्षेत्रको संरक्षणमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार