गोरखा, १ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखाको अजिरकोट गाउँपालिकाको पालिकास्तरीय आधारभूत अस्पतालको आज उद्घाटन गर्नुभएको छ ।
अजिरकोट गाउँपालिका–३, स्थित भच्चेकमा रहेको भच्चेक आधारभूत अस्पतालको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । विस २०३४ सालमा स्थापना भएको स्वास्थ्य चौकीलाई पाँच शय्यामा स्तरोन्नती गरी पालिकास्तरीय अस्पतालको रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
अस्पतालबाट चिकित्सकीय सेवा दिन सुरु भइसकेको उहाँले बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १८ जनाको दरवन्दी रहेको अस्पतालमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि पालिकाले प्रक्रिया अघि बढाइसकेको अध्यक्ष देवकोटाको भनाइ छ ।
पालिकाले आफ्नै पहलमा उक्त अस्पतालबाट गत आर्थिक वर्षका साउनदेखि नै २४ चौविसै घण्टा आकस्मिक स्वास्थ्य उपचारसेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
भच्चेक आधारभूत अस्पतालबाट अजिरकोट गाउँपालिकासहित सिरानचोक, बारपाक सुलिकोट गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिकाका बासिन्दाले स्वास्थय उपचार सेवा लिन सहज हुने हुने गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो ।