प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब जाजरकोटका भूकम्प पीडितलाई दिने निर्णय

२०८० कार्तिक २३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब जाजरकोटका भूकम्प पीडितलाई दिने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । बैठकले निजगढ विमानस्थलको लामो समयदेखि अवरुद्ध कामका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने र विद्युत प्राधिकरणमार्फत् कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ भने पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय