तामाङ र नेवार समुदाय भएका कारण गणतन्त्र आएको हो : प्रधानमन्त्री प्रचण्ड

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा र यस आसपास तामाङ र नेवार समुदायका कारण नेपालमा छिटो गणतन्त्र आएको बताउनुभएकाे  छ । शनिबार माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा नेवार र तामाङ समुदायले सहयोग नगरेको भए लोकतान्त्रिक गणतन्त्र आउन सम्भव नभएको बताउनु भयाे ।

उनले भने– ‘हिजो तामाङ समुदायले र काठमाडौँको नेवार समुदायको सक्रिय सहभागिता र योगदान नभएको भए नेपाल अहिले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न सम्भव थिए । मलाई बढो ताजा रूपमा स्मरण छ, काठमाडौँ उपत्यका वरिपरि र काठमाडौँमा रहेका तामाङ समुदायको त्याग, तपस्या र बलिदानका थुप्रै कीर्तिमानहरूका कारणले र राजधानी भित्रै रहेका कारणले नै देश गणतन्त्रमा आउन सम्भव भएको हो । यदि राजधानी वरिपरि तपाईंहरुको समुदाय सक्रिय रूपले योगदान गर्ने ठाउँमा हुँदैनथ्यो भने या नेवार समुदायको पनि हामीलाई सक्रिय सहयोग हुँदैनथ्यो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ठाउँमा नेपाल आइपुग्थ्यो भन्न सकिने थिएन ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध काठमाडौँ वरिपरि र भित्र पनि ठुला फौजी आक्रमण गर्ने अवस्थामा पुग्दैनथ्यो भने ७ राजनीतिक दल र माओवादीबिच समझदारीका लागि वार्ताको वातावरण बन्ने अवस्था नहुने उल्लेख गरे । समग्रमा तामाङ समुदाय सहितका जातीय क्षेत्रीय मोर्चाले गणतन्त्र ल्याउन भूमिका खेलेको बताउनु भयाे ।

उनले जनयुद्ध थालेको १ वर्षभित्र सबै उत्पीडित जाती समुदायलाई जनयुद्धमा समावेश गर्न नसकिएको बताउँदै  युद्धलाई अघि बढाउन निकै जटिल र कठिन हुन्छ भनेर देशैभरि जातीय मोर्चाहरू बनाएको बताए । प्रधानमन्त्री प्रचण्डले उनीहरूको हक र अधिकारलाई जनयुद्धको अभिन्न अङ्ग बनाउने निर्णय गरेर मोर्चा बनाएर गोलबन्द गरेर युद्धलाई अघि बढाएको बताउनु भयाे ।

परम्परागत र जडसुत्रवादी ढङ्गले युद्ध गरेको भए र जातीय मोर्चा नबनाएको भए जनयुद्धलाई ‘किलो शेरा टु’ भन्दा अघि बढाउन नसक्ने अवस्था रहेको उनले उल्लेख गरे । प्रचण्डले हिजोको त्यो इतिहासलाई स्मरण गर्नुपर्ने र सबै समुदायलाई समेटेका कारण जनयुद्ध सफल भएको दाबी गन्रुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय