बाढीबाट ज्यान गुमाएकाहरूका परिवारलाई क्षतिपूर्तिको व्यवस्था होस् : एनपी साउद

२०८१ असार २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२५ असार । नेपाली कांग्रेसका सांसद एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पु-याएको विपदलाई छोड्न नसकिने बताउनुभएकाे छ ।

‘कञ्चनपुरमा बाढीले ठुलो संख्यामा जीवन र धन दुवैको क्षति भएको छ । आवश्यक राहतको केन्द्र सरकारले प्रबन्ध गर्न र उद्धारका कामहरूलाई अगाडि बढाउन, दिवङ्गतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरूलाई तत्काल पुनर्स्थापनाको काममा पनि केन्द्र सरकारले ध्यान दिन आवश्यक छ,’ साउदले भन्नुभयाे, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घ–संस्थाको भरमा मात्रै यत्रो ठुलो विपद्लाई छाड्न सकिन्न । यतातिर सरकारको ध्यान जाओस् ।’

साउदले बाढी–पहिरोबाट देशभर ८० जनाको मृत्यु भइसकेको पनि संसदलाई जानकारी गराउनुभयाे । ‘बाढीपहिरोबाट देशभरी ८० को जीवन समाप्त भइसकेको अवस्था छ । कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको छ,’ उहाँले भन्नुभयाे, ‘कञ्चनपुरको पुनर्वास नगरपालिका– ५ रातोखाली खोलामा लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको देहवसान भएको छ । कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि निधन भएको छ । बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ डम्बर चौधरी वेपत्ता अवस्थामा हुनुहुन्छ । दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ । पहिचान भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय