युवराज पौडेल
स्याङ्जा,१३ साउन । स्याङ्जा जिल्लाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नियमित योग गरेर योगलाई जीवनशैली बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
जिल्ला कारागार स्याङ्जाका थुनुवा र कैदीहरूका लागि सञ्चालित एक हप्ते योग र ध्यान प्रशिक्षणको समापनमा बोल्दै प्रजिअ नेपालले योगबाट सकारात्मक ऊर्जा प्राप्त हुने भएकाले यसबाट शारीरिक तथा मानसिक स्वास्थ्य कायम हुने बताउनुभयो ।
उहाँले भन्नुभयाे “बिहान प्रत्येक दिन प्रातस्कालमा उठेर योग गर्ने बानी बनाउनोस् । यसबाट तपाईहरूमा सकारात्मक सोच पैदा हुन्छ । आत्मविश्वास बढ्छ ।” जीवन विज्ञान स्याङ्जाको आयोजनामा कैदी र थुनुवाहरूलाई कारागारभित्र प्रशिक्षण दिइएको हो ।
श्रावण ७ देखि सञ्चालित उक्त योग तथा ध्यान शिविर एक हप्तासम्म सञ्चालन भएको थियो । बिहान ७ बजेबाट सञ्चालन भएको योग शिविरमा कैदी र थुनुवाहरू खुसी भएर सहभागी भएको जेलर दिनेश शर्माले बताउनुभयो । कारागारमा कैदी १०० जना र थुनुवा ४२ जना गरी जम्मा १४२ जना छन् ।
शिविरमा कैदी थुनुवाहरूका साथमा प्रजिअ नेपाल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा सहित प्रहरी अधिकारीहरू समेत सहभागी भएका थिए । शिविरमा प्रशिक्षक ओम खड्का, राधा पौडेल र निर्मला लम्सालले प्रशिक्षण दिएका थिए ।