राँझा, २१ भदौ । बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन् । नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गङ्गापुर स्वास्थ्यचौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए ।
केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चारजनाको मृत्यु भएको थियो । बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउनेक्रम बढेको स्वास्थ्यचौकी इञ्चार्ज बुढाथोकीले बताए ।