काठमाडौं,२२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ ।
शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताउनुभयाे ।
‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ नि, अब समय आएको छ’, उहाँले भन्नुभयाे ।
अहिले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले ऐन कानुन बनाउनका लागि संसदमा पनि सहज बहुमत रहेको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।