काठमाडौँ ,७ कात्तिक। एकजना नेपाली युवक उनका चिनियाँ मालिकलाई मार्ने धम्की दिँदै रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएमएसमार्फत धम्की दिई पैसा मागेको अभियोगमा सिन्धुपाल्चोकको ज्यामिरे गाविस-८ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
ती युवकले चिनियाँ नागरिकले सञ्चालन गरेको सिशुआन याङ टेक्स्टाइल प्रालिका म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको खुलेको छ ।
उक्त कम्पनीमा मजदुरका रुपमा कार्यरत उनले रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाइदिने धम्की दिएको उजुरी परेको थियो ।
त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित कम्पनी परिसरबाटै पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा गत असोज २१ गते राति उक्त कम्पनीका मजदुर तामाङले अपरिचित मोबाइल नम्बरबाट पार्टीलाई एक लाख ५० हजार देखि दुई लाख रूपैयाँसम्म सहयोग गर्नु पर्यो भनेर म्यासेज गरेका थिए ।
यदि रकम नदिएमा बम बिष्फोट गराई कम्पनीमा क्षति गराउने व्यहोरासहितको धम्कीपूर्ण एसएमएस गरेको पनि प्रहरीले भेट्टाएको छ । तामाङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।