रवि दुधले नुहाएका व्यक्ति होईनन्, तर सरकारले प्रतिशोध साँधेको प्रष्ट छः डा.केसी

२०८१ पुष १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, १५ पुस । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउनुभएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको कुरामा आफू क्लियर रहेको बताउनुभएको हो । विश्लेषक डा.केसीले लामिछाने दुधले नुहाएको मान्छे होईनन् भन्ने कुरामा पनि आफू प्रष्ट रहेको बताउनुभयो ।

‘जे गरेपनि हुन्छ भन्ने अभ्यास गर्ने पछिल्लो प्रवृत्ति चाहीँ रवि लामिछाने हो । रवि लामिछानेमाथि प्रतिशोध भएको हो भन्ने कुरामा क्लिएर छु । तर, रवि लामिछाने पनि दुधले नुहाएका व्यक्ति होईनन् भन्ने कुरामा म त्योभन्दा बढी प्रष्ट छु,’– उहाँले भन्नुभयो।

साथै, फरक प्रसंगमा उनले सरकारमा रहेका मन्त्रीहरुलाई पोलिटिकल टर्मिनोलोजी नै थाहा नभएको टिप्पणी गर्नभयो । अर्थमन्त्री ८ क्लास पढेको लठुवा र परराष्ट्रमन्त्री मनोविद्लाई बनाइएको भन्दै उहाँले भन्नुभयोे, ‘अब ८ क्लास पढेको लठुवालाई अर्थमन्त्री बनाउने, मनोविद्लाई लगेर परराष्ट्रमन्त्री बनाउने अनि नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई निम्तो दिएनन् भनेर यहाँ छाती पिट्ने । कसरी हुन्छ त ? पोलिटिकल टर्मिनोलोजी नै थाहा छैन ।’ साथै, आजको दिनमा हरेक राजनीतिक दलहरुभित्र राजनीतिक कमैयाहरु रहेको र तिनीहरु नै अहिलेको समस्याको रुपमा रहेको बताए । ‘आजको मूल मुद्दा भनेको राजनीतिक दलभित्रको कमैया प्रथा उन्मुलन नै आजको मुख्य एजेण्डा हुनुपर्छ । हरेक दलभित्र राजनीतिक कमैयाहरु छन्,’– उहाँले भन्नुभयो।

आज सेना, कर्मचारी र राजनीतिक वृत्तमा पनि भ्रष्टाचारको कुरा उठिरहेको बताउँदै उहाँले यसबारे बोल्न डरमर्दो अवस्था रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको विरुद्धमा बोल्दा कालो पट्टी बाँधेर जेल कोचिदिन सक्ने अहिलेको खतरा रहेको बताउनुभयो । विश्लेषक डा. केसीले नेताहरुलाई भ्रष्टाचार गर्न सिकाउने र पुँजी पलायन गर्न सिकाउने तत्व कर्मचारी नै रहेको दाबी गर्नुभयो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जहाँ जाँदा पनि जनताले कालो झण्डा देखाइरहेको, गाली गरिरहेको र दुत्कारी रहेको उनले बताए । प्रधानमन्त्री ओलीलाई आफूले यो कार्यकाल विदेश भ्रमण नै नगर्नुुस् भनेर सुझाव दिएपनि उहाँले त्यसैलाई आफ्नो एजेण्डा बनाएको बताउनुभयो ।

‘जब प्रधानमन्त्री, मन्त्री विदेशको भ्रमणमा जान्छ भनेदेखि देशवासीहरुले उसलाई स्टेन दिनुपर्छ । तर, हाम्रो त जाहिँत्यहीँ प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँछन्, गाली गर्छन्, दुत्कार्छन् । यस्तो अनुहार लिएर भ्रमणमा गइयो भने देश र जनताको पक्षमा केही आउन सक्दैन । मैले भनेको थिएँ– प्रधानमन्त्रीजी तपाईँ यो चोटी भ्रमणमा नगइदिनुहोस् । तर उहाँहरुको एजेण्डा नै भ्रमण हो । फेरि भ्रमणको कुरा पनि पहिला चीनको कि भारतको गर्ने ?’ उहाँले भन्नुभयो ।

विश्लेषक डा.केसीलदे विदेश नीति, सामाजिक सद्भाव, धर्म, वित्तीय प्रशासन र विकास निर्माणको मामलामा राजनीति गर्न नपाइने उहाँले बताउनुभयो । यसैमाथि राजनीति भइरहेको र लोकतन्त्रलाई चुनौति दिइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले सबै नेताहरुको सम्पत्ति छानविन हुनलाई आफू नै प्रधानमन्त्री बन्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका कोहीबाट पनि त्यो काम हुन नसक्ने बताउनुभयो । ‘सबै नेताको सम्पत्ति छानविन हुनुपर्ने माग नेपाली जनताको माग वास्तविकतामा आधारित हो भने त्यसको लागि म नै प्रधानमन्त्री हुनुपर्छ । कुनै अर्को उपाय छैन, यी ल्याङ्ग्राबाट त्यो हुँदैन,’– उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय