काठमाडौँ , १० माघ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताउनुभएकाे छ । बिहीबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उपप्रधानमन्त्री पौडेलले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताउनुभयाे । उहाँले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरूलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभयाे । उहाँले समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताउनुभयाे ।