अध्यादेशबारे असहमति भए पनि संसद्मा बोल्न पाइँदैन : कांग्रेस (भिडियाे सहित)

२०८१ माघ १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१३ माघ । सत्तारूढ नेपाली कांग्रेसले हालै सरकारले ल्याएका अध्यादेशहरूमा आफ्ना फरक मत वा असहमति भए पनि संसद्मा त्यसलाई व्यक्त गर्न नपाइने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी सहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुसहितको बैठकले अध्यादेशका बारेका आफ्ना सांसदहरुसंग सघनरुपमा छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो । संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसद्मा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘भोलि र पर्सि संसदीय दलमा सांसदहरूका बीचमा पनि सघन रूपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ ।’

बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद् र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएको घिमिरेको भनाइ छ । देउवाको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘केही कुरा छन् भने यहीँ भित्र कुरा राखौँ, नेपाली कांग्रेस एक भएर संसद् अधिवेशनमा प्रस्तुत हुने र बाहिर पनि एक भएर प्रस्तुत हुने भन्ने नै सभापतिज्यूको निर्देशन हो ।’ यस्तै, आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राख्नुभएको थियो । आर्थिक क्षेत्रमा देखिनेगरी सुधारका काम गर्न केही विधेयकलाई संशोधन गर्नैपर्ने बाध्यता भएको हुनाले यसलाई अध्यादेशका रूपमा ल्याइएको देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय