करारका ८० कर्मचारी निष्कासित प्रकरण, अदालतको आदेश लिएर आज १० बजे कार्यालय पुग्दै प्रशासकीय अधिकृत

२०८१ फाल्गुन ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,११ फागुन । धनुषाको विदेह नगरपालिकामा करारमा राखिएका ८० भन्दा बढी कर्मचारी निष्कासन पछि ज्यान मार्ने धम्कीका कारण पालिका जान नपाएको बताउने प्रशासकीय अधिकृत इन्जिनियर दिपेन्द्र कुमार शाहलाई सोही कार्यालयमा काम गर्न जान अदालतले आदेश दिएको छ ।

कर्मचारी निष्कासन पछि कतैबाट सुरक्षा नपाएको भन्दै न्यायकाे लागि उच्च अदालत जनकपुर पुग्नु भएका शाहको रिट निवेदन माथी सुनुवाइ गर्दै प्रशासकीय अधिकृत शाहलाई अन्तिम फैसला नआउने समयसम्म सोही पालिकामा काम गर्नु भनी अन्तरिम आदेश दिएको हाे ।

अदालतले सुरक्षाको प्रबन्ध मिलाउन र सोही पालिकामा काम गर्नु भनी अन्तरिम आदेश दिएपछि प्रशासकीय अधिकृत शाह आइतबार अर्थात फागुन ११ गते नगरपालिकाको कार्यालय जाने हुनुभएको छ ।

उता नगरप्रमुख वेचन दासले भने सरुवा भैइसकेका प्रशासकीय अधिकृतले आवेगमा आएर कोठामै बसेर यस्तो निर्णय गरेको बताउनु भएको छ । उहाँले हेर्नेकुरा डटकमसंग कुराकानी गर्दै भन्नुभयो “उहाँको खानेपानी मन्त्रालयमा सरुवा भैइसकेको छ । सरुवा भएको रिसको झोकमा घरमै बसेर यस्तो निर्णय गर्नुभएको हो ।”

करारमा राखिएका कर्मचारी मेयरका झोले भएको भन्दै ८० भन्दा बढी कर्मचारीलाई प्रशासकीय अधिकृत इन्जिनियर शाहले निष्कासन गरेपछि धनुषा जिल्लाको विदेह नगरपालिकामा प्रशासकीय अधिकृत,मेयर र निष्कासित कर्मचारी बीच विवाद बढ्दै गएको छ ।

अदालतको आदेशमा भनिएको छ : प्रस्तुत निवेदन पत्र सहितको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दीपेन्द्र कुमार साहले गर्नु भएको बहस समेत सुनियो।

यसमा, के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरु नं ३ देखि ६ सम्मको हकमा उच्च सरकारी वकिल कार्यालय, जनकपुर मार्फत अन्यको हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनपत्रको प्रतिलिपि साथै राखी विपक्षीहरुको नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु।

साथै, यसमा अन्तरिम आदेश समेतको माग रहेकोमा सो सम्बन्धमा दुवै पक्षविच छलफल गराई निस्कर्षमा पुग्न मनासिव हुने देखिदा सो प्रयोजनको लागि मिति २०८१।११।१३ को पेशी तोकी सोको सूचना समेत विपक्षीलाई दिई नियम अनुसार पेश गर्नू ।

सो अन्तरिम आदेशको छलफल भई अर्को आदेश नभएसम्म निवेदकलाई विदेह नगरपालिकाको अफिसमा पदीय दायित्व अनुसार कामकाज गर्न कुनै पनि किसिमको अवरोध पुऱ्याउने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय