क्रान्ति अर्याल
स्याङ्जा ,१२ फागुन। राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट स्याङ्जाका युवराज पराजुली महामन्त्री पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । अपांगता भएका व्यक्तिहरूको हकहितका लागि विगत १८ वर्षदेखि सक्रिय पराजुली सामाजिक तथा व्यावसायिक क्षेत्रमा विभिन्न भूमिकामा योगदान दिँदै आउनुभएको छ ।
स्याङ्जा अपांग समाजका संस्थापक अध्यक्ष रहेका पराजुली राष्ट्रिय अपांग महासंघ साविक पश्चिमाञ्चल विकास क्षेत्रका संयोजक, युवा रेडक्रस सर्कलका संस्थापक सभापति र रेडक्रस उपशाखाका निवर्तमान उपसभापति समेत रहनुभएको छ । नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा केन्द्रीय प्रतिनिधिका रूपमा समेत उहाँको सक्रिय सहभागिता रहेको थियो । हाल उहाँ अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र ( नेपालको अध्यक्ष, राष्ट्रिय शारीरिक अपांग महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष र अपांगता विज्ञका रूपमा क्रियाशील हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जाका संस्थापक अध्यक्षको रूपमा पनि उहाँको छुट्टै पहिचान रहेको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा अधिवेशन सम्पन्न गरेपछि प्रदेशस्तरीय अधिवेशन गरिएको थियो । अधिवेशनको उद्घाटन नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गर्नुभएको थियो ।