नवग्रह मन्दिरले स्याङ्जाको पर्यटनमा नयाँ आयाम थपेको छ : सांसद थापा

२०८१ फाल्गुन १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा ,१६ फागुन । स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा नवग्रह मन्दिर तथा धार्मिक अनुष्ठान गीता प्रवचनको कार्यक्रमको समापन समारोहमा बोल्दै नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापाले नवग्रह मन्दिरले स्याङ्जाको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभएको छ ।

समापन समारोहमा बोल्दै थापाले नेपालकै पहिलो नवग्रह मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व रहेको बताउँदै यसलाई अझै विस्तार र विकासका लागि आफूले पहल गरिरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “पालिका अध्यक्ष प्रकाशजीले दुई वर्ष अगाडि नै आफूलाई रामग्रह मन्दिरका बारेमा सुनाउनुभएको थियो । मैले उहाँलाई यो काम सकारात्मक भएकाले अगाडि बढ्न सुझाव दिएको थिएँ । नभन्दै यो सोचेभन्दा राम्रो भयो ।”

थापाले पर्यटनमन्त्री पाण्डेसँग यसको बृहत्तर विकासका लागि आफूले कुरा गरिरहेको बताउनुभयो । उहाँले सुरुमा आफूलाई पनि यति धेरै दर्शनार्थी आउलान् जस्तो नलागेको तर दर्शनार्थीको भीड देख्दा खुसी लागेको बताउनुभयो । उहाँले विज्ञान र धर्मलाई जोडेको नवग्रह मन्दिरले जिल्लाको धार्मिक पर्यटनमा नयाँ आयाम थपेको भन्दै पालिकाबासी सबैको सहयोगका कारणमात्र धार्मिक अनुष्ठान सफल भएको विचार राख्नुभयो ।

महोत्सवमा १ करोड २५ लाख दीप प्रज्ज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवा लाख हवन गरिएको थियो । धार्मिक महोत्सवको उद्घाटन नेपाल सरकारका पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार