काठमाडौँ, २ चैत। नेपाल शिक्षक महासंघले दोश्रो चरणको आन्दोलनका क्रममा शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले शनिबार नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा धर्ना दिएका हुन् । सवै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई संसदको चालू अधिवेशनबाटै पारित गनुपर्ने महासंघको माग छ ।
दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । यसअघि महासंघले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको थियो ।
आफ्ना माग पुरा नभए चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।