विप्रेषण बढाउन प्रणालिगत सुधार आवश्यक: श्रममन्त्री श्रेष्ठ

२०७८ माघ २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २७ माघ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित विकास समस्या समाधान समितिको वैठकमा मन्त्री श्रेष्ठले विकसित मुलुकहरुमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गर्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरुको माग र आवश्यकता अनुरुप नेपाली श्रमिकको सीप विकास गर्न सके विप्रेषण दोब्बरले बढाउन सकिने बताउनुभयो । नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्व राख्ने विप्रेषण बढाउन प्रणालिगत सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिक आपुर्तिको क्रममा रहेको लामो प्रकृयाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन नसकिएको उहाँको भनाइ छ । वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको पूँजी, सीप, दक्षता र अनुभवलाई उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रोजगारीको ग्यारेन्टी सहित सीप विकास कार्यक्रम सातवटै प्रदेशमा विस्तार गर्ने आफ्नो योजना रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले मन्त्रालय अन्तर्गतका आयोजनाहरुको भौतिक तथा वित्तिय प्रगतिमा सुधार गर्न गम्भीर भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सेवाग्राहीलाई पारदर्शी र चुस्त सेवा प्रदान गर्न पनि उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने र उत्पादनमूलक लगानीमा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव एकनारायण अर्यालले नियमित अनुगमन, गुनासा सुनुवाई, उद्धार कार्यलाई प्रभावकारी बनाइएको बताउनुभयो । सो क्रममा दोस्रो चौमासिकसम्म कल सेन्टर, हेलो सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका गुनासो तथा उजुरीमध्ये ९७.८ प्रतिशत फछर्यौट गरिएको र २.२ प्रतिशत फछर्यौटको प्रकृयामा रहेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय