सिण्डिकेट चिरेर लेखिएको आत्मगौरवको कथा

२०८२ बैशाख १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

बैशाखको घाम अलिक चर्किँदै थियो । सञ्चारिका समूहको नवौं महाधिवेशनमा कुनै पदमा उठ्ने त्यत्रोविधि सोच थिएन । तर, मनको कुनामा सधैं एउटै भावना थियो– महिला पत्रकारहरूको साझा संस्थामा, सञ्चारिकामा, योग्य, सक्षम, र स्वतन्त्र नेतृत्व आओस् ।

एकछिनको शान्तिमा, मनभित्र एउटा अस्पष्ट चाहना घुमिरहन्थ्यो– अब सञ्चारिका समूहमा केही गर्नु पर्छ कि ? महाधिवेशन नजिकिँदै गर्दा केही साथीहरू व्यस्त देखिन थाले । एकदिन एक जना साथीले भनी, ‘तिमी पनि नजाने महाधिवेशन ? उठ न !’

अर्की साथीलाई भने, ‘जान त मन लाग्छ, उठूँ त ?’ उनी पनि उत्साहित देखिइन्, ‘आउ न ! उठ्नै पर्छ !’ अझ दुई–तीन साथीहरूको पनि हौसला दिए – ‘तिमी उठ्ने हो भने म तिमीलाई मत दिन्छु ।’ मनको हुटहुटी बढ्दै गयो । सञ्चारिकाको कार्यक्रममा पहिले कहिलेकाहीं जाने गरेको थिएँ, तर सदस्य को को थिए भन्ने मलाई खासै थाहा थिएन । धेरैलाई चिन्दिनँ पनि । सोचें, ‘मात्र चिनेका साथीहरूका भरमा चुनाव जितिन्छ र ?’ फेरि भित्रैबाट आवाज आयो– ‘जित्नु मुख्य होइन, । कसैले संगठन बिना केहि गर्न नसकिने भन्दै हैसियत माथी उठाएको प्रश्नको सिण्डिकेट तोडनु थियो ।

त्यसैबीच एउटा प्रस्ताव थियो– सञ्चारिकामा प्रेस चौतारी र प्रेस युनियन गठबन्धन गरेर अघि बढ्ने । बैठक बस्यो, नामहरू प्रस्ताव भए । पदाधिकारीमा धेरैको नाम थियो, तर सदस्यमा मात्र हामी ३ जनाको नाम प्रस्तावमा थियो । म ढुक्क थिएँ– सदस्यतर्फ थोरै छौ, त पक्कै नाम आउला ।

म चौतारीको केन्द्रिय समितिमा मात्रै थिएँ, कार्यसमिति वा कुनै निर्णयात्मक तहमा थिइन । सञ्चारिकाको कुनै जिम्मेवारीमा वा पदाधिकारीमा जाने सोच पनि त होइन् । त्यसैले मलाई लाग्यो – ‘म त स्वतन्त्रकै हैसियतमा उठ्न सक्छु ।’ तर उनीहरूको सोच फरक रहेछ । चौतारीको बैठक बोलाइयो । कसैले खुला समर्थन गरेन, न खुला विरोध । तर बैठकमा हामीलाई लक्षित गरेर अप्रत्यक्ष कटाक्ष सुरु भयो । प्रश्नको बाढी आइहाल्यो – ‘तिमी चौतारीमै छौ भने सञ्चारिकामा के गर्न आउछ्यौ ?’

म मौन थिएँ, तर भित्रभित्रै बोलिरहेकी थिएँ । अन्ततः मैले आफ्नो धारणा राखें – ‘यदि चौतारीको सदस्य भएर सञ्चारिकामा स्थान नपाइने हो भने म चौतारीकै पद छाड्न तयार छु ।’ मैले मुख खोले । उनीहरूले अझ कडा अडान लिए– ‘तिमी उठ्न पाउँदिनौं ।’ उनीहरुको त्यो बन्देज मेरो स्वतन्त्रता माथी लादिएको सिण्डिकेट थियो । जुन आवश्यक नै थिएन् । त्यसपछि मैले भनें– ‘अब १० मत मात्र किन नआओस्, म उठ्नेछु । तिमीहरूको सिण्डिकेट म तोडेरै छाड्छु ।’

मनको हुटहुटी अब अठोटमा रूपान्तरण भइसकेको थियो । भोट नआउला भन्ने डर थिएन, हारजितको प्रश्न पनि थिएन– प्रश्न थियो स्वतन्त्रताको । त्यस दिन बिहानैदेखि केही खाएकी थिइनँ । संगठन निर्णय कुरेर कसैसंग मत मागेको पनि थिइन् । नत समाजिक सञ्जालमा कुनै पोष्ट नै हालेकी थिए । तनभन्दा मन थाकिसकेको थियो । कोठामा गएँ, कपडा फेरेँ । अल्फा हाउस पुगें– कार्यक्रम त्यहीँ थियो । चारैतिर थोरै परिचित त धेरै अपरिचित अनुहारहरू थिए । म कसैलाई चिन्दिनँ, धेरैले मलाई पनि चिनेका थिएनन् । तर त्यो अपरिचय नै मेरो आत्मबल बनिरहेको थियो ।

कार्यक्रम सकिएपछि मनोनयन सुरु भयो । मैले अझै आश गरिरहेकी थिएँ – ‘संगठनले सायद प्रस्ताव गर्छ ।’ तर फेरि सिण्डिकेटको सूची आयो त्यस सूचीमा स्वतन्त्र कसैको नाम थिएन । मलाई थाहा थियो– ‘अब म मात्र बाँचेंको विकल्प हुँ ।’
मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएँ । साथीहरूलाई चिन्न थालेँ, नाम भन्न थालेँ । धेरैले खुसी भएर प्रतिक्रिया दिए – ‘हामी त तपाईंलाई बाइलाइनबाट चिन्छौं ।’ यस्तो प्रतिक्रिया पाउँदा आत्मबल बढ्दै गयो । त्यसपछि दबाब सुरु भयो – ‘फिर्ता गर मनोनयन, संगठन रिसाउँछ ।’

म चुप लागें । कोही अग्रजहरूको ‘धेरै समझदारीपूर्ण सल्लाह’ आयो – ‘राजनीति नगर, उठ लड् हिम्मत गर ।’ मलाई लाग्यो – ‘अब फिर्ता भएर होइन् अगाडी बढेर मात्र यो सिण्डिकेटको संरचना पर्खाल नाघन् सकिन्छ ।’
त्यसैबीच चौतारीका कतिपय पदाधिकारीहरू चिठी बाँड्दै थिए – ‘यी हुन् हाम्रो एलाइन्सका उम्मेदवार ।’ हाम्रा नाम त्यहाँ थिएन, नत कुनै समर्थन थियो । बरु प्रतिरोध थियो । सञ्चारिका महिलाहरुको समुहको मतदानमा आएर यसरी खुलेआम चिट बाडेर पुरुष समुहले आफनो हैसियत देखएकोमा आपत्ती पनि जनाएका थिए ।

मैले भनें – ‘म जित्न होइन, बोल्न आएको हुँ ।’ मत चलदै थियो फोन आयो – ‘तिमीहरूमाथि संगठनको पार्टीको कारबाही आयो ।’– चार वटा नाम, सबै एउटै संगठनका
म अचम्ममा परेँ । स्वतन्त्र उठेँ भनेर कारबाही ? पत्रकार महिलालाइ संगठनको गुलाम बनाउने प्रयत्न ? कारबाहीले झन् चर्चा थप्यो । फोन, सन्देश, सामाजिक सञ्जाल – चारैतिर प्रतिक्रियाहरू आइरहेका थिए । हामीहरु समाचार बनिसकेका थियौ । म खुसी भएँ – ‘अब सिण्डिकेट तोडियो । जुन हामीलाइ संगठनले नियतवश लगाएको थियो ।

राति परिणाम आयो – हामी दुइ जना दीपा र म विजयी भयौ । त्यो विजयी क्षणले मलाई भन्न बाध्य बनायो – ‘साँचै, स्वतन्त्रता कहिल्यै हार्दैन ।’ तर त्यसपछि सुरु भयो बालसुलभ व्यवहार । प्रेस चौतारीका कतिपय साथीहरू सामाजिक सञ्जालमा पोस्ट गर्न थाले – ‘बधाई एलाइन्सको विजयी टिमलाई ।’ जसमा स्वतन्त्र विजय भएका दुइ नाम उल्लेख नै थिएन ।

मलाई दुःख लागेन, बरु हाँसो उठ्यो– ‘कस्तो संगठन ! केटाकेटी जस्तो व्यवहार ।’ सानैमा भाडाकुटी खेल्दा रिस उठेका साथीहरु यस्तै व्यवहार देखाइन्थियो शायद ।

सञ्चारिका त सबैको साझा संस्था हो, होइन र ? बैशाख ११ गते पदाधिकारीलाई बधाई दिने कार्यक्रम तय भयो । केहि अग्रजहरु आश्चर्य मान्दै भन्दैछन्, यो संस्था त सबै महिला पत्रकारहरूको साझा घर थियो, तर अहिले यति धेरै राजनीति घुसेछ कि… ।’

कार्यक्रम सकिएपछि बिदा हुने बेलामा पहिलो बैठक बिहान ८ बजे डाकियो घर नपुग्दै फोन आयो ‘बैठक सारियो, किनभने चौतारीले बधाइ दिन दुइजना छाडेर अन्य विजयीलाई मात्र बोलायो ।’ म अचम्ममा परेँ– ‘हामी पनि सञ्चारीका हौ ,विजयी थियौं, हामीलाई किन बोलाएन ?’ अर्की साथीले भनिन्– ‘हामी त प्रधानमन्त्री भेट्न जान लागेका छौं ।’

म मनमनै सोचें– ‘प्रधानमन्त्रीले सबै सञ्चारिका सदस्यलाई बोलाउनु पर्ने होइन ? भेदभाव त चौतारीले पो ग¥यो !’ तर, मेरो शौभाग्यवश त्यो बधाइमा कार्यक्रममा प्रधानमन्त्री आएनछन् । दुःखको कुरा यो पनि लाग्यो कि सञ्चारिका समूृहकै पदाधिकारी र अरू सदस्यमध्ये कसैले पनि त्यसरी नै विद्रोह गरेर जितेकी तारा र दीपा रेग्मीलाई कार्यक्रममा जाउँसम्म भनेनन् । पेसा र मित्रताभन्दा राजनीति कति ठूलो ?
मलाई स्पष्ट भयो– ‘स्वतन्त्रता सजिलो हुँदैन, तर साँचो आत्मगौरव त्यहीँ भेटिन्छ ।’

केही समयअघि म पोखरामा निर्वाचन रिपोर्टिङमा थिएँ । एक जनाले सोधे – ‘तपाईं कुन पार्टीको पत्रकार ?’ म अचम्म परें– पत्रकार पनि पार्टीको हुन्छ ? त्यस दिन लेखें– ‘तपाईं कुन पार्टीको पत्रकार ?’ जुन लेख प्रेस काउन्सिलको संहितामा छापियो ।

आज मलाई गर्व छ– म स्वतन्त्र पत्रकार हुँ । चौतारीको पद त्याग्दा म कुनै राजनीतिक स्वार्थमा थिएन । न म चाकडी गर्न जान्दछु, न म चिया चुस्न । म राजनीतिको भरमा नियुक्तिको सपना देख्दिनँ ।
मलाई थाहा छ – स्वतन्त्र रहन गाह्रो छ । आलोचना, आरोप, अपमान – धेरै कुरा आउँछन् ।

मैले कहिल्यै चाकडी गरेको छैन, गर्ने इच्छा पनि छैन । मलाई कुनै नेताको चिया खानु, नियुक्तिको आश गर्नु, वा सहानुभूति लिने राजनीति पटक्कै रुच्दैन ।

म पत्रकार हुँ—र जहाँसम्म पत्रकारिता गर्छु, पार्टीको चश्मा नलगाई लेख्नेछु । यही नै मेरो अडान हो, यही मेरो मार्ग हो  र, जबसम्म म स्वतन्त्र छु—मेरो कलम कसैले रोक्न सक्दैन । कसैले भाच्न सक्दैन् ।

तारा चापागाई 

सञ्चारिका समूहको नवनिर्वाचित सदस्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय