शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू

२०८२ बैशाख १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ वैशाख । नेकपा एकीकृत समाजवादीका नेताहरू नेपाल शिक्षक महासंघको २७ दिनदेखि जारी आन्दोलनमा सहभागी भएका छन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू शिक्षक आन्दोलनको समर्थन गर्न नयाँबानेश्वर पुगेका हुन् ।

तर एकीकृत समाजवादीका नेताहरुविरुद्ध शिक्षकहरूले नाराबाजी गरेपछि उनीहरू आन्दोलन स्थलबाट फर्किएका छन् ।

यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माधवकुमार नेपाललाई शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउनभन्दा शिक्षा समिति सभापति एकीकृत समाजवादीका सांसद रहेकाले शिक्षा विधेयक चाँडै टुङ्ग्याउन निर्देशन दिन आग्रह गरेका थिए ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले २७ औं दिनदेखि आन्दोलन गरिरहेको छ । उक्त ऐन संसद्‍को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको छ। समितिबाट पारित गरेर संसदमा विधेयक नआउँदा विद्यालय शिक्षा ऐन जारी हुन सकेको छैन। उक्त समितिका सभापति एकीकृत समाजवादीका सांसद अम्मर बहादुर थापा रहेका छन्।

माग सम्बोधन गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि शिक्षकहरु लचक भएर सरकारसँग सहमति गर्न तयार भइरहँदा एक अन्तर्वार्तामा सभापति थापाले शिक्षकहरू ऐन माग्दै सडकमा आएपनि तत्काल जारी हुन नसक्ने बताएका थिए। सभापति थापाले सबै खाले छलफल, प्रक्रिया पूरा गर्न अझै एक महिना लाग्ने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय