काठमाडौं, १० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमा बिनियोजित बजेटमा सन्दर्भमा भएको छलफलमा उठेका प्रश्नका जवाफ दिदै मन्त्री गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाउने उल्लेख गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने जानकारी दिनुभयो । उहाले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भसकेको जानकारी दिनुभयो । साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेस तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उहाले बताउनुभयो । मन्त्री गुरुङले ब्रोडब्यान्ड इन्टरनेट सेवा विभिन्न स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा पुगेको जानकारी दिदै आगामी आर्थिक बर्षमा सवै वडामा पुराइने उल्लेख गर्नुभयो । पाँच हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको उहाले बताउनुभयो । उहाले सरकारी र सार्वजनिक सेवामा नागरिकको पहुँचलाई सहज बनाउन र सेवाहरुको दक्षता बढाउन अधिकांश सेवाहरुलाई नागरिक एपमा आबद्ध गर्नेगरी प्रणाली विकास गरिएको धारणा राख्नुभयो ।
मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको उपयोग गर्न एआई सम्बन्धी नीति स्वीकृतिको चरणमा रहेको जानकारी दिनुभयो ।