काठमाडौँ ,११ असार। नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकको एकमात्र छलफलको एजेण्डा विधान महाधिवेशन रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।
नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । विधान महाधिवेशनको मिति नजिकिएसँगै एमालेले त्यसको तयारी गर्न सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठकले विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गर्न कुनै नेताको संयोजकत्वमा समिति बनाउने वा त्यसको जिम्मा संगठन विभागलाई दिने भन्ने निर्णय गर्ने नेताहरूको भनाइ छ । ‘विधान महाधिवेशनमा प्रस्तुत गर्ने संशोधित विधानको प्रस्तावित खाका बनाउनुपर्छ । त्यसपछि राजनीतिक प्रस्ताव, तेस्रो संगठनात्मक प्रस्ताव र समसामयिक सङ्कल्प प्रस्तावहरू पनि तयार गर्नुपर्छ । ती कामका लागि नेताहरूलाई जिम्मेवारी आजको बैठकले दिनेछ’, प्रचार विभाग प्रमुख गौतमले भने, ‘संशोधित विधानको खाका मातहतका कमिटीमार्फत सुझाव माग्नुपर्ने हुन्छ ।’