चियापानमा प्रधानमन्त्री : नेपाल पक्षले गुटको भेला गरे कारवाही गर्ने चेतावनी

२०७७ चैत्र ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत ३, २०७७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताए ।

उनले भने, ‘अचाक्ली भयो,पार्टीलाई पार्टीको रुपमा चल्न नदिने,जहिले पनि भाँडभैलो मच्चाउने,अब यो कुरा हुन सक्दैन । पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्छ । अब अनुसाशनहिन काम भयो भने पार्टीको निधान छ,कानुन छ,संविधान छ,संसद नियमावली छ,दलसम्बन्धी कानुन छ,यी सबैतिर म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले भोली माधव नेपाल पक्षको हुन लागेको भेलाबारे बोल्दै त्यस्ता गुटगत भेला नगर्न,त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको उल्लेख गरे । अपराध गर्नेलाई स्वागत छ नभने पनि पार्टीमा आए काम गर्न दिने बताए । उनले हिजोको झै तमासा गर्ने,जग हँसाई गर्ने,मिडियालाई समाचार लेख्न काम पाउने अवस्था सिर्जना नगर्न आग्रह गरे ।

उनले भने–‘एकथरी अनुहार आज चियापानमा देखिएनन्,यो राम्रो लक्षण हैन । उहाँहरुले त्यस्तो निर्णय गरेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोली गुटगत भेला राख्नुहुन्छ राख्नुहुन्न कतिको तमासा गर्नुहुन्छ एक नजर त्यता राखिनेछ । पार्टीलाई धम्क्याएर घुर्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने पार्टी विधी विधान अनुसार चल्छ नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार