लोपोन्मुख संस्कृति संरक्षणको पुस्तान्तरण गर्दै : मेखलाल श्रेष्ठ

२०७८ फाल्गुन ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ, ७ फागुन । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले लोपोन्मुख संस्कृतिको संरक्षणसहित पुस्तान्तरण गर्दै लगिने बताउनुभएको छ ।

नेपाल सांस्कृतिक सङ्घ गण्डकी प्रदेश, नेपाल सांस्कृतिक सङ्घ स्याङ्जाको आयोजनामा आज वालिङमा आयोजित प्रदेशका प्रचलित लोककला तथा संस्कृति संरक्षणसम्बन्धी गोष्ठीमा उहाँले परम्परादेखि चल्दै आएका हाम्रा कला संस्कृतिहरुको संरक्षण गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जानुको विकल्प नभएको बताउनुभएको हो । “गण्डकी प्रदेशभित्र परम्परादेखि चल्दै आएका भाषा, चालचालन, रीतिरिवाज, कलालगायतको संरक्षण गर्दै अगाडि बढ्नु जरुरी छ”, उहाँले भन्नुभयो, “समयमै यसप्रकारका हाम्रा परम्परा, संस्कृतिको संरक्षण गर्नतर्फ ध्यान नदिए अब आउने नयाँ पुस्ताले सराप्ने छ, तसर्थ गण्डकी प्रदेशले चालेको अभियानमा सबैले सहयोग गरेर संरक्षण गर्नतर्फ अगाडि बढौँ ।”

प्रदेशका ११ वटै जिल्लामा सम्पत्तिका रूपमा रहेका भाषा, कला, संस्कृतिको संरक्षण गर्नका लागि स्थानीयवासीलाई नै अग्रसर बनाउने गरी अगाडि बढिएको उहाँले बताउनुभयो । “प्रचलनमा रहेका लोककलाको थप प्रचार–प्रसार, लोपोन्मुख अवस्थामा रहेका संस्कृतिको संरक्षण साथै लुकेर रहेका नयाँ–नयाँ प्रतिभाको प्रस्फुटनमा टेवा पुग्ने गरी अभियान थालेका छौँ”, उहाँले भन्नुभयो, “समुदाय–समुदायमा लोपोन्मुख अवस्थामा रहेका कला, संस्कृतिको संरक्षणका लागि सम्बन्धित समुदायमै पुगेर थप खोजी गर्नेछौँ, जसले गर्दा बढी महत्वपूर्ण र टिकाउ पनि हुन जान्छ ।”कुनै पनि समुदायको कला, संस्कृतिको संरक्षण गर्न सोही समुदाय अग्रसर भएमामात्रै टिकाउ र प्रभावकारी हुने उहाँको जोड थियो । लोक सङ्गीतका क्षेत्रमा विभिन्न विकृति विसङ्गति भित्रिने क्रम बढ्दै गएकाले यस्ता प्रवृत्तिलाई निषेध गर्नु जरुरी रहेको प्रा डा कुसुमाकर न्यौपानेले बताउनुभयो । गण्डकी प्रदेशमा प्रचलित लोक सङ्गीत संरक्षणका लागि लोक सन्दर्भलाई विशेष महत्व दिने, मौलिकता गुम्न नदिने, विकृतिलाई निषेध गर्ने, लय, भाषा, बाजा, नाचमा विकृति नल्याउने, प्रचलित लोकसङ्गीतलाई महत्व दिने, आयातित संस्कृतिलाई महत्व नदिने, लोपोन्मुख अवस्थाका लोकसङ्गीतको मौलिकतालाई जोगाउने र लोप भइसकेका लोकसङ्गीतको खोजी गरी संरक्षण गर्नुपर्ने प्रा डा न्यौपाने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय