बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिन कति सम्भव ? 

२०७७ असार ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्ण बस्याल

प्रदेश-५ को अस्थायी राजधानी बुटवल भएपछि सबैभन्दा पहिले दाङले विरोध जनायो । दाङपछि बाँके र बर्दियाले पनि बुटवलमा राजधानी तोकिएको भन्दै विरोध गरे । दाङले विरोध गर्नुको एउटै कारण थियो- मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला ।

निर्वाचनमा पोखरेलले आफू मुख्यमन्त्री भए प्रदेशको राजधानी दाङ बनाउने सार्वजनिक उद्घोष गरेका थिए ।

यता बाँके र बर्दिया भने राजधानी माग गरेर नभई अपायक पर्ने भन्दै प्रदेश ५ बाट अलग हुने बताइरहन्छन् । बुटवल दूरीका हिसाबले टाढा भएका कारण कर्णाली प्रदेशमा जान सहज हुने निष्कर्ष बाँके र बर्दियाका केही राजनीतिक दलको छ ।

बाँकेको कोहलपुर नगरपालिकाले त कर्णाली प्रदेशमा मिसिने निर्णयसमेत गरिसकेको छ । यद्यपि प्रदेश स्थापना भएको साढे २ वर्ष हुँदासमेत प्रदेशको स्थायी राजधानी र नामकरण हुन सकेको छैन । यस्तो अवस्थामा कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रूपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो ।

यसअघि बाँकेकै नेपालगञ्ज उपमहानगरपालिकाले पनि प्रदेशको राजधानी नेपालगञ्ज बनाउन पहल गर्ने र सम्भव नभए कर्णाली प्रदेशमा गाभिने लिखित निर्णय गरेको थियो ।

हालैको नगरसभाबाट कर्णाली प्रदेशमा जाने निर्णय गरेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले बताए । उनले जनताको मागअनुसार नगरसभाबाट कर्णालीमा मिसिने निर्णय गरेको बताए ।

पालिका, वडा तहस्तरमा सिंहदबार खोजेका जनताले राजधानी पनि पायक पर्ने स्थानमा खोज्नु स्वाभाविक भएको भन्दै बुटवलमै स्थायी राजधानी हुने भएपछि कर्णालीमा मिसिने निर्णय गरेको नगरप्रमुख रावतको भनाइ छ ।

उनले दाङ स्थायी राजधानी हुने सम्भावना कम र बुटवलको सम्भावना बढी भएकाले सुगमता र आर्थिक, सामाजिक र सांस्कृतिक पहुँचका लागि पनि कर्णाली प्रदेश उत्तम हुने बताए ।

‘यहाँका जनताले बुटवल वा चन्द्रौटासम्म राजधानी आए पायक नपर्ने तर दाङ पाएक पर्ने निष्कर्ष छ । तर, दाङ स्थायी राजधानीका लागि सम्भावना कम हुँदै गयो । त्यसैले जनताको भावनाअनुसार यो निर्णय गरिएको हो,’ नगरप्रमुख रावतले भने ।

कोहलपुरबाट २ घण्टामा कर्णाली प्रदेशको राजधानी सुर्खेत जान सकिने भए पनि बुटवलमा आउन ७ घण्टा लाग्ने गरेको उनी बताउँछन् ।

जनताले बिहानले सुर्खेत पुगेर काम सकेर साँझ बाँके बर्दिया जान सक्ने भए पनि बुटवल पुग्नै समय लाग्ने भएकाले कर्णाली नै उत्तम विकल्प रहेको रावतले बताए ।

बुटवल रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी कपिलवस्तुको तुलनामा पश्चिम क्षेत्र पछाडि परेको महसुस बाँके र बर्दियाका जनताले गरेको भन्दै कर्णालीमा जाँदा सामाजिक, सांस्कृतिक एवं धार्मिक पहुँच जनतामा हुने समेत उनले बताए ।

कोहलपुर नगरपालिका प्रदेश-५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलको निर्वाचन क्षेत्र हो । नगरप्रमुख रावतले नगरपालिकाले गर्ने निर्णयबारे मन्त्रीलाई जानकारी नगराइएको तर मन्त्री पाैडेलले जनताको भावना बुझेको उनले बताए ।

गुलरिया नगरपालिका बर्दियाकी उपप्रमुख सुशीला गिरी बुटवलभन्दा पनि सुर्खेतमा पायक पर्ने भएकाले जनता कर्णालीमा जान तयार रहेको बताइन् । बुटवलमा पुग्नै १ दिन लाग्ने र काम गर्दा अरू २ दिन खर्च हुने तर सुर्खेत बिहान गएर बेलुका आउन सक्ने भएकाले जनताको आवाज नै कर्णालीमा मिसिने रहेको उनले बताइन् ।

कति सम्भव छ कर्णालीमा गाभिन ?

प्रदेशका-५ मन्त्रालयमध्ये भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाँकेबाट निर्वाचित आरती पौडेलले सम्हालिरहेकी छन् ।

थारू जातिको बढी बाहुल्यता रहेको बाँके र बर्दियालाई लक्षित गर्दै सरकारले २ दिन माघी पर्वमा समेत बिदा दिँदै आएको छ ।

नेपाल भ्रमण वर्षको सुरुवात प्रदेशले बर्दियाको राजपुरबाट गरेको थियो । यी कार्यक्रम त्यहाँ लैजानुको कारण प्रदेशको अस्थायी राजधानी बुटवल भए पनि मुख्यतः काम जिल्ला तहबाट पनि हुन्छन् भन्ने सन्देश दिनुु थियो । तर, प्रदेश सरकारले कार्यक्रम जिल्लामै लगे पनि बाँके र बर्दियाबासीले राजधानीको पायक पर्ने विषयलाई कार्यक्रमसँग नदाजी कर्णाली प्रदेशमा मिसिने आवाज उठाइरहेका छन् ।

बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभिन कति सम्भव छ ? यो विषयमा अधिवक्ता महेन्द्र पाण्डे भन्छन्, ‘नगरसभाले निर्णय गरेर हुँदैन । संविधानै संसोधन नै गर्नुपर्छ । यो नैतिक दबाब मात्र हो । संविधान संशाेधन नगरी केही हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय