माधव नेपाल नेतृत्वको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति

२०७८ फाल्गुन २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२७ फागुन । प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो । छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो ।

गत भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर र महत्थ ठाकुरले जसफा फुटाएर नयाँ पार्टी दर्ता गरेका थिए । जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो । अध्यादेश अनुसार पार्टी फुटाउँदा राष्ट्रिय दल हुन सक्ने तर, अध्यादेश फिर्ता भएपछि उक्त पार्टी राष्ट्रिय दल कहिलेसम्म कायम रहने भन्ने विषयमा कानूनी व्यवस्था प्रष्ट नभएको एमालेको तर्क छ ।

कानूनी व्यवस्था प्रष्ट नभएकाले अध्यादेश फिर्तासँगै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय दलको मान्यता पनि खारेज भएको नेकपा एमालेका नेता बाबुराम दाहालले बताए । ‘राजनीतिक दलसम्बन्धी ऐनले अध्यादेश फिर्ता भएपछि राष्ट्रिय दल रहने वा नरहने वा अध्यादेश अनुसार बनेको पार्टी कहिलेसम्म राष्ट्रिय दल रहने भनेर प्रष्ट नभएकाले दुई दललाई राष्ट्रिय दलको मान्यता दिन मिल्दैन’।तर, निर्वाचन आयोगका अधिकारीहरुले एमालेले दुई पार्टीलाई दिइएको राष्ट्रिय दलको मान्यताका विषयमा उठाएको प्रश्नमा कुनै जवाफ दिनुभएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार