चापाकोट र रामपुर नगरपालिकालाई समेटेर विकास गर्न आवश्यक : पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ

२०७८ चैत्र १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

स्याङ्जा, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समय सिमाभित्रै स्थानीय तह सहित सबै तहको निर्वाचन हुने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन हुने कुरमा शंका नगर्न समेत सबैमा आग्रह गरे ।

“करिब दुई तिहाई जनमत नजिकको ओली सरकारले असंबैधानिक तबरबाट पटक–पटक प्रतिनिधिसभा भंग गरेपछि विशेष परिस्थितीमा यो सरकार बनेको हो ।” प्रधानमन्त्री देउवाले भने, “विशेष परिस्थितीमा बनेको सरकार आफ्नो दायित्व पुरा गर्छ, शंका गर्न आवश्यक छैन् समय सिमाभित्र निर्वाचन हुन्छ ।”

स्थानीय तह निर्वाचनको मिति घोषणा भई सकेको छ, निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र बनाउनु हामी सबैको समान दायित्व भएको बताउँदै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सबैको सहयोग भएमा निर्वाचन समयमै सफलता पूर्वक सम्पन्न हुने बताए ।

स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाइ जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।

“स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ ।” प्रधानमन्त्री देउवाले भने, “स्थानीय सरकारले संघीयताको मर्म अनुसार जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।”

चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको उनले बताए । उनले कृषिमा प्रचुर सम्भाबना भएको चापाकोट कृषि क्रान्ति आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताए । उनले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो शहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आँफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुलहरु अहिले पनि निर्माणको क्रममा रहेको बताए ।

ढिलै भएपनि एमसिसी पास भएको छ, यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास जनाए । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको श्रेष्ठको भनाई थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहनु पर्नेमा जोड दिए । उनले देशलाई अधिनायकवादीहरु र प्रतिगमनकारीहरुबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताए ।

नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मीनेन्द्र रिजालले हरेक परिवर्तनको नेतृत्व नेपाली काँग्रेस पार्टीले गरेको बताए । उनले जब देश जटिल अवस्थामा पर्छ त्यतिबेला नेपाली काँग्रेसको नेतृत्वले देशलाई निकास दिने कार्यहरु गरेको स्मरण गरे ।

नेपालको समयलाई अब खेर जान नदिने गरी प्रधानमन्त्री देउवा अगाडि बढ्नु भएको बताउदै आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराउन नेता कार्यकर्ताहरुलाई पूर्वमन्त्री रिजालले अनुरोध गरे ।

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचूर संभावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताए । उनले सिञ्चाईका क्षेत्रमा पनि नयाँ योजनाहरुसहित अगाडि बढेर उर्वरायुक्त भूमिलाई सिञ्चित गर्नुपर्ने औलयाए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालीगण्डकी डाईभर्सनको योजना अगाडि सारेर यहाँका नागरिकलाई तर्साएको नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले बताए । उनले कालीगण्डकी डाईभर्सनलाई रोक्नका लागि प्रधानमन्त्री देउवासमक्ष अनुरोधसमेत गरे ।

चापाकोट नगरपालिका समथर र निक्कै संभावना बोकेको स्थल भएकाले यहाँ बिमानस्थल, कालीगण्डकी नदीमाथि पक्की पुल, यहाँसम्म पुग्नका लागि सडक सहितका पूर्वाधार निर्माणलाई जोड दिन उपप्रमुख बिमला श्रेष्ठले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराईन् ।

संघ। प्रदेश र स्थानीय सरकारको संयुक्त साझेदारीमा ५ करोड ५० लाखमा भवन निर्माण सम्पन्न भएको हो । १६ रोपनी परिषरको झण्डै १ रोपनी जग्गामा निर्माण भएको ३ तले भवनमा ३८ कोठा चापाकोट नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय